विदेश जानेको संख्यामा कमि

विदेश जानेको संख्यामा कमि

पछिल्लो महिना श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या घटेको छ ।

नेपालीका श्रम गन्तव्य देशमा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको असर देखिएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर विदेशिनेको सङ्ख्या मङ्सिर महिनाको तुलनामा पुस महिनामा साढे १० हजारले घटेको हो ।

मङ्सिरमा ७४ हजार ३५४ जनाले श्रम स्वीकृति लिएकामा पुस महिनामा ६३ हजार ८२५ जना मात्रै छन् ।

कोरोना सङ्क्रमणका कारण गत फागुनदेखि वैशाखसम्म ठप्पजस्तै भएको वैदेशिक रोजगारी असारदेखि गति लिन थालेको थियो तर पुनः कोरोना महामारीको नयाँ लहर आएपछि भने घट्न थालेको हो ।

विभागका अनुसार चालू आर्थिक वर्ष २०७८ र ७९ को पहिलो छ महिनामा दुुई लाख ९७ हजार ४०८ जनाले ९७ देशमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

साउनदेखि मङ्सिरसम्मको तथ्याङ्क हेर्दा श्रम स्वीकृति लिनेको सङ्ख्या बढदै गएको र पुसमा घटेको पाइएको छ।

विभागका अनुसार चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा धेरै मङ्सिरमा ७४ हजार ३५४ जना र सबैभन्दा कम साउनमा २५ हजार ४२८ जनाले श्रम स्वीकृति लिए।

यसैगरी पुस महिनामा ६३ हजार ८२५ जना, कात्तिक महिनामा ५४ हजार ११८ जना, असोजमा ३९ हजार ६७१ जना र भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति लिएर विदेश गएको विभागले जनाएको छ ।