ललिता निवासको जग्गा हडप्नेलाई जोगाउने प्रपञ्च : एमाले

ललिता निवासको जग्गा हडप्नेलाई जोगाउने प्रपञ्च : एमाले

सरकारले ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना गर्नेहरूलाई जोगाउन लागिपरेको नेकपा एमाले ले आरोप लगाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को अनुसन्धान फाइल सरकारी वकील मार्फत फिर्ता गरेर सरकारले जग्गा हड्प्नेहरूलाई जोगाउन खाजेको आरोप लगाएको हो।

ललिता निवास जग्गा प्रकरणबाट ध्यान अन्त मोड्न केही मन्त्रीलाई ‘स्टन्टबाजी’ गर्न लगाइएको ओलीको दाबी छ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिनासँग सम्बन्धित विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले दुई वर्षभन्दा बढी समय लगाएर गरेको अनुसन्धान र त्यसमाथि आधारित भएर अगाडि बढाइएको मुद्दालाई थप अनुसन्धानका नाममा सरकारी वकील कार्यालय मार्फत फिर्ता गराएर सरकारी सम्पत्ति हिनामिनामा संलग्नलाई उन्मुक्ति दिने खतरनाक प्रपञ्च गरिएको छ।’