स्मार्ट सिटी धनगढीको अवधारणा बोकेको उप-महानगरमा फोहोर नउठाई हुइँकिन्छ गाडी...

स्मार्ट सिटी धनगढीको अवधारणा बोकेको उप-महानगरमा फोहोर नउठाई हुइँकिन्छ गाडी...

धनगढी । धनगढी उप-महानगरपालिकामा फोहोर व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको गाडीले फोहोर नलगी जाने गरेको स्थानीयले गुनासो गरेका छन् । उप-महानगरपालिकाको वडा नं. २ सरस्वती नगर टोलका स्थानीयले फोहोर व्यवस्थापन गर्न सञ्चालनमा ल्याएको गाडीले फोहोर नलगी जाने गरेको गुनासो गरेका हुन् ।
 
धनगढी उप-महानगरपालिकाले स्मार्ट सिटी धनगढीको नारालाई आत्मसाथ गर्दै स्थानीयको घर तथा पसल, होटेल, अस्पताल लगायतका स्थानहरूबाट फोहोर सङ्कलन गर्न सञ्चालनमा ल्याएको ट्याक्टर हरेक आइतबार फोहोर सङ्कलनको निम्ति आए पनि आफ्नो मन लाग्दी ठाउँबाट फोहोर उठाएर जाने र रोक्न आग्रह गर्दा समेत नसुने झैँ गरी जाने गरेको उनीहरूको आरोप रहेको छ । 

हरेक आइतबार आउने ट्याक्टरले फोहोर सङ्कलन गरेर गाडीमा राख्न तयार गरेको अवस्थामा समेत नलग्ने गरेको धनगढी उप-महानगरपालिका वडा नंं. २ सरस्वती नगर टोलकी स्थानीय शारदा ओझाले दुखेसो गर्नुभएको छ । ओझाले फोहोर निकासको बाटो नभएको बताउँदै फोहोर सङ्कलन गर्न आएको गाडी नरोकिनुको कारण के हो ? भनी सम्बन्धित निकाय सँग जवाफ माग्नुभएको छ । ''हरेक आइतबार फोहोर सङ्कलन गर्न ट्याक्टर आउँछ तर रोक्नुस् दाजु भन्दा पनि नरोकी जान्छन् । किन नरोकेको हो ? कारण के हो भनी दिनुपर्‍यो ।'' भन्दै उहाँले प्रश्न गर्नुभयो ।
 
ओझाले भाडामा बस्ने विद्यार्थीहरू एउटै कोठामा खाना पकाउने त्यही पढ्ने, सुत्ने र बस्न बाध्य हुने गरेको अवस्था छ । यस्तो कोरोना महामारीको अवस्थामा धेरै समय कोठा भित्रै फोहोर राख्दा बिरामी हुने जोखिम समेत बढेको हुँदा फोहोर व्यवस्थापनमा उचित भूमिका निर्वाह गर्न उप-महानगरका मेयरको ध्यानाकर्षण गराउनुभएको छ । ''१० धुरमा घर बनाएका हुन्छौ । घर भित्र कति फोहोर राखी राख्नु ? भाडामा विद्यार्थीहरू बसेका हुन्छन् । झन् उनीहरूलाई कस्तो समस्या होला ? एटै कोठामा खान, बस्न, पढ्न, सुत्न फोहोर फाल्ने, व्यवस्थापन गर्ने ठाउँ छैन । त्यो मान्छेले मीन नरोकेको हो मेयर सापले सम्झाइ बुझाई गरिदिनु पर्‍यो ।'' उहाँले भन्नुभयो । 

यस्तै, धनगढी वडा नं. २ सरस्वती नगर टोलकै स्थानीय गोरख ब. ओलीको पनि नगरपालिकाको गाडी आएर फोहोर हेरेर मात्रै जाने गरेको आरोप रहेको छ । पैसा तिरेर राखेको प्राइभेट गाडी आएर फोहोर उठाउने गरेको भए पनि नगरपालिकाको गाडीले फोहोर उठाउन भन्दा पनि झन् अस्पताल कता कता बाट ल्याएर फोहोर बाटोमा खसाल्ने र त्यो समेत न उठाएको बताउनुभयो । ''फोहोर जम्मा गरिएको छ । नगरपालिकाको गाडी आएर हेरेर जान्छ । झन् हस्पिटल कताबाट ल्याएको फोहोरका झिल्ली खसाएर जान्छ त्यो समेत उठाएर जाँदैन ।'' उहाँले भन्नुभयो । 

यस्तै, धनगढी उप-महानगर २ का किराना व्यापारी रवीन्द्र ओलीले नगरपालिकाको फोहोर सङ्कलन गर्ने गाडी आफ्नै पसल अगाडी बाट नरोकी जाने गरेको भएकोले सानो पलास्टीकहरु पोल्ने गरेको र बच्चाहरू को प्याम्परहरु मोहना खोलामा लगेर फाल्ने गरेको बताउनु भयो । ''स्यानो तिनो पलास्टिकहरु पोल्ने गरेका छौँ । बच्चाका प्याम्पर, प्याडहरू ती सबै मोहना खोलामा लगेर फाल्ने गरेका छौँ । यता फोहोर सङ्कलन गर्ने गाडी कहिले रोकिँदैन ।'' उहाँले भन्नुभयो । 

त्यस्तै, धनगढी उप-महानगरपालिकाका फोहोर सङ्कलन गर्न वडा नं. २ मा खटाइएका ट्याक्टर चालक चुन्नु लाल चौधरीले भने हतारमा हुने भएकोले नरोकिएको र आज मलामी जान भनिएकोले नरोकी गएको स्विकार्नु भएको छ । ''हामी सधैँ जसो आइतबार फोहोर सङ्कलन गर्न आउँछौँ । फोहोर लगेर जान्छौँ तर आज मलामी जानुपर्ने भएकोले हतारमा भएर नरोकी गएका हौँ ।'' उहाँले भन्नुभयो । 

यता धनगढी उप-महानगरपालिकाका सरसफाइ प्रमुख हरि प्रमुख भट्टले भने कहिले काहीँ स्टाफको कमी कमजोरीले यस्तो समस्या आउने गरेको र आज पनि नागरिकको गुनासो अनुसार फोहोर सङ्कलन गरिएको बताउनुभयो । ''वडा नं. २ बाट फोर उठेन भनेर फोन आएको थियो त्यहाँ तुरुन्तै आफ्नो जिम्मेवारी पुरा गरेर आउनुहोस् भनेर हाम्रो कर्मचारी पठाएर त्यहाँको फोहोर उठाई सकिएको छ । कहिले काहीँ ट्याक्टरको आवाजले ड्राइभरले बोलाएको नसुन्दा यस्तो समस्या आउँछ । आज उहाँले गल्ती गर्नुभएकै हो अव देखी दोहोर्‍याउन निर्देशन गरेको छु ।'' उहाँले भन्नुभयो । 

नगरपालिकाले खटाएका कर्मचारीका उल्लेखित स्थानमा मात्रै नभई धनगढीका विभिन्न चोक, बजार क्षेत्रको फोहोर समेत बेलैमा नउठाएको देखिन्छ । यी यावद कमीकमजोरी र लापरबाहीका कारण स्मार्ट सिटी धनगढी होस या ग्रिन क्लिन धनगढी नारालाई यी कार्यहरूले नराम्रो सँग गिज्याइरहेको छ नै । यदि यी कर्मचारीहरूले आफ्नो कमजोरी बेलैमा न सच्याउने हो भने स्मार्ट, स्वच्छ धनगढी नभई कुरूप धनगढी बन्ने देखिन्छ ।