सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, ३ सदस्यका लागि ६ जना चुनावी मैदानमा

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, ३ सदस्यका लागि ६ जना चुनावी मैदानमा

धनगढी । राष्ट्रिय सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा तयारी पूरा भएको छ। सहायक निर्वाचन अधिकृत प्रेम भट्टले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए। सुदूरपश्चिम प्रदेश सभाको भवनमा हुने मतदानका लागि सम्पूर्ण व्यवस्था मिलाइएको उनले जानकारी दिए।

मतदानका लागि दुई वटा मतदान केन्द्र बनाइएका छन्। प्रदेश सभा सदस्यहरूले मतदान केन्द्र नम्बर ‘क’ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान केन्द्र नम्बर ‘ख’ मा मतदान गर्ने व्यवस्था मिलाइएको छ।

बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। त्यसपछि लगत्तै मतगणनासहित अन्तिम मतपरिणाम घोषणा गरी विजयी उम्मेद्वारलाई प्रमाण पत्र दिइने भट्टले बताए।

तीन सदस्यका लागि सुदूरपश्चिमबाट ६ जना उम्मेद्वार चुनावी मैदानमा छन्। खुल्ला सदस्यमा कांग्रेसबाट कैलालीका नारायण दत्त मिश्र र नेकपा एमालेबाट डोटीका डिल्लीराज भट्ट उम्मेद्वार छन्।

महिला सदस्यमा नेकपा एमालेबाट कैलालीकी नेतृ सन्तोषकुमारी शर्मा थापा र नेकपा एकीकृत समाजवादीकी नेतृ गरीमा शाहबीच प्रतिस्पर्धा हुँदैछ।

दलित सदस्यतर्फ एमालेबाट बैतडीका नरेश विक र नेकपा माओवादी केन्द्रका तर्फबाट डडेल्धुराका जगत पार्की प्रतिस्पर्धामा छन्।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टीका एक र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य छन् ।

८८ वटा स्थानीय तहका १७५ मतदाता रहेकोमा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन्।