बैतडीबाट हराइरहेकी बालिकालाई भारत लैजाने अवस्थामा पर्सामा फेला पारिएको छ। माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटमा फेला परेकी हुन्।
बालिकालाई भारत लैजाने खोज्ने अर्घाखाँची सन्धिखर्क ७ घर भई हाल भरतपुर उपमहानगरपालिका १ बस्ने २८ वर्षीय राजु अधिकारी पक्राउ परेका छन्।
माइती नेपालको समन्वयमा बालिकालाई उद्धार गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।
अधिकारी र बालिका एक महिनाअघिदेखि फोन सम्पर्कमा थिए। फोनबाटै चिनजान गरी बालिकालाई उनले भेट्न बोलाएका थिए।
अर्घाखाँची लगेर बिहे गर्छु भनी बालिकालाई वीरगञ्ज बसपार्कसम्म ल्याएको अनुसन्धानबाट खुलेको छ । बालिकालाई इनर्वा नाका हुँदै भारत लैजान खोजेको देखिन्छ।
बालिका अहिले माइती नेपालको साथमा छिन्। अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान थालिएको छ।