बैंकहरुको नाफा र बेस रेट बढ्यो

बैंकहरुको नाफा र बेस रेट बढ्यो

वाणिज्य बैंकहरुको नाफासँगै आधार दर बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार आधार दर अघिल्लो वर्षको तुलनामा १ दशमलव १६ प्रतिशत बिन्दुले बढेको छ । तरलता अभावको कारण बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदा लागत बढेको छ । यसले गर्दा आधार दर पनि बढेको हो ।

सिभिल बैंकको आधार दर सबैभन्दा धेरै ९ दशमलव ७४ प्रतिशत कायम भएको छ । एनआइसी एसिया बैंकको आधार दर ९ दशमलव ४४ प्रतिशत, एनसीसी बैंकको ९ दशमलव १५ प्रतिशत र सिटिजन्स बैंकको ९ दशमलव ८ प्रतिशत तथा अरु बैंकको भने ९ प्रतिशतभन्दा कम छ । 

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात बेस रेट हो । बेस रेटमा शून्यदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले ब्याजदर तोक्ने गर्छन् ।  आधार दर भन्दा बढी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ब्याजदर लिन पाउँदैनन् ।

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा पनि बढेको छ । गएको आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकहरुको खुद नाफा १० दशमलव १० प्रतिशतले बढेको हो । गएको आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ अर्ब ७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका बैंकहरुले चालु आर्थिक वर्षको यही अवधिसम्ममा कुल ३४ अर्ब २१ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकले गरेको छ । यो  बैंकले पुस मसान्तसम्ममा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा १५ दशमलव ०४ प्रतिशत बढी हो । २७ वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा सिभिल बैंकको रहेको छ । सिभिल बैंकले यस अवधिसम्ममा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । 

पुस मसान्तसम्ममा ग्लोबल आईएमई बैंकले २ अर्ब ६६ करोड, एनआईसी एसियाले २ अर्ब ४० करोड र नबिल बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।