राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना विजयी

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा सत्ता गठबन्धनका तीनैजना विजयी

धनगढी । सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनका तर्फबाट खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका हुन् ।

उनीहरुले एमालेका डिल्लीराज भट्ट, नरेश विक र  सन्तोषकुमार थापा शर्मालाई पराजित गरे । खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाए । स्थानीय तहतर्फ कूल १७५ मध्ये मिश्रले १०४ मत र ६९ भट्टले मत प्राप्त गरेका छन् । स्थानीय तहतर्फ दुई मत बदर भए ।

दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका छन् । दलिततर्फ प्रदेशसभामा १ र स्थानीय तहतर्फ ३ मत बदर भए ।

महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् । महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भए ।

सुदूरपश्चिम प्रदेशसभामा ५२ जना र स्थानीय तहतर्फ १७५ गरी २२७ जना मतदाता थिए ।