खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब २४ करोड बिगो माग

खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब २४ करोड बिगो माग

चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौ जना कर्मचारी, नौवटा सिमेन्ट कम्पनी र अन्य नौवटा कम्पनीका संचालकसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा बुधबार अपरान्ह मुद्दा दायर गरेको हो । 

महानिर्देशक घिमिरेको हकमा १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन आएको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ र दफा ७ को देहाय बमोजिमको कसुरमा सजाय हुन मागदाबी सहित मुद्दा दायर गरिएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । 

‘महानिर्देशक घिमिरेको हकमा १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन आएको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ र दफा ७ को देहाय बमोजिमको कसुरमा सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको छ।

चुनढुंगा अनियमिततामा संलग्न रहेको अभियोगमा सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, सिद्धार्थ मिनरल्स, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाईटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाईट चुनढंगा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को कसुर बमोजिम सजाय हुन अख्तियारले दायर गरिएको मुद्दामा मागदावी गरिएको छ ।