गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै राष्ट्रिय सभा सदस्य चुनिए कांग्रेसका बस्नेत

गोलाप्रथाबाट एमाले उम्मेदवारलाई हराउँदै राष्ट्रिय सभा सदस्य चुनिए कांग्रेसका बस्नेत

प्रदेश १ मा सत्तारूढ गठबन्धनका उम्मदवार गोलाप्रथाबाट राष्ट्रिय सभामा निर्वाचित भएका छन्।
बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो।

यसअघि बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए।बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेका थिए।
झापाका पुराना काँग्रेस नेता गोपालकुमार बस्नेत चुनावी राजनीतिमा अभागी नेतामा दरिँदै आएका थिए। त्यो अभागी विगतलाई बिसाउँदै बस्नेतले गोलामार्फत संसद यात्रा तय गरेका छन्। 

२०५१ को मध्यावधि निर्वाचनमा झापा ३ मा एमालेका देवीप्रसाद ओझासँग पराजित उनी त्यसपछि काँग्रेसको झापा सभापतिमा उठेका थिए। सुधिर शिवाकोटीसँग त्यो आन्तरिक चुनाव पनि हारेपछि बस्नेत चुनावी राजनीतिको अभ्यासबाट टाढा थिए। २०७४ को आमनिर्वाचन लगत्तै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बस्नेतलाई राष्ट्रियसभामा मनोनित गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको निर्णय सदर नगर्दा बस्नेतको सिंहदरबार यात्रा रोकियो। काँग्रेसमा देउवा निकट बस्नेतले यसपटक राष्ट्रियसभामा सहजै जित्ने गणित थियो। तर, उनी एमाले उम्मेद्वार गुरु बरालसँग बराबरी मत ल्याउँदै गोलाको सहारा लिन बाध्य भए।