भिजिट भिसाले निम्त्याएको समस्याबारे अध्ययन गरी कार्य योजना बनाउन समिति गठन

भिजिट भिसाले निम्त्याएको समस्याबारे अध्ययन गरी कार्य योजना बनाउन समिति गठन

सरकारले भिजिट भिसा र त्यसबाट उत्पन्न समस्याबारे अध्ययन गरी ठोस योजना बनाउन समिति बनाएको छ ।

नेपाली श्रमिकले यूएई लगायतको खाडीको देशमा कामका लागि भिजिट भिसामार्फत गएर  समस्या भोगिरहेको सन्दर्भमा बुधबार गृह मन्त्रालयले गृह प्रवक्ता तथा सहसचिव फणीन्द्रमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रहरी, अध्यागमन विभाग तथा वैदेशिक रोजगार बोर्डका प्रतिनिधि रहेका छन् ।

समितिले भिजिट भिसा उपलब्ध गराउने मापदण्ड बनाउन, विमानस्थलमा आवागमन सहजीकरण, अध्यागमन प्रणाली सुधार, अन्तर्राष्ट्रिय उडान तालिका, श्रमिकहरुले विदेशमा रहदा भोगेका समस्या समाधान गर्ने लगायतका विषयमा सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ । 

त्यसका लागि १५ दिनको समय तोकिएको छ । समितिको सचिवालय वैदेशिक रोजगार बोर्डमा रहनेछ । 

श्रम गन्तव्य देशहरूमा समस्यामा परेका श्रमिकहरू, भिजिट भिसामा गई अलपत्र पर्ने लगायतका विषयमा बुधबार गृह मन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठक बसेको थियो ।