एअरलिप्ट गरेर सुत्केरीको ज्यान जोगाइयो

एअरलिप्ट गरेर सुत्केरीको ज्यान जोगाइयो

बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ७ कि धुमा सार्कीको एयरलिफ्ट सेवाले ज्यान जोगिएको छ ।
सल्यक्रिया गरेर बच्चा जन्माएकी २५ वर्षीया धुमाको स्वास्थ्य निकै जटिल बन्दै गएपछि प्रदेश सातको सामाजिक विकास मन्त्रालयले एयरलिफ्ट सेवा दिएर बाँकेको नेपालगन्ज मेडिकल कलेज (कोहलपुर) पुर्‍याइएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीका अनुसार धुमालाई मंगलबार साँझ मनाङ एयरको हेलिकोप्टरबाट कोहलपुर लगिएको हो ।
बझाङ जिल्ला अस्पतालका डाक्टर अनुप रेग्मीका अनुसार धुमाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको छ । डाक्टर रेग्मीका अनुसार धुमाको अहिले कोहलपुर अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ । डाक्टर रेग्मीले भने– “नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो छ, आमा (धुमा) को स्वास्थ्यमा पनि क्रमिक रूपमा सुधार भइरहेको छ ।”

धुमाले बझाङ जिल्ला अस्पतालमा मंगलबार दिउँसो बच्चा जन्माएकी थिइन् ।

बच्चा जन्माएपछि उनको स्वास्थ्य गम्भीर बन्दै गएपछि उनलाई नेपालगञ्ज रिफर गरिएको थियो । “सडक मार्गबाट गाडीबाट लैजादा उनको ज्यान नै खतरामा पर्ने देखिएपछि उनलाई बझाङको झोताबाट हेलिकोप्टरबाट नेपालगञ्ज विमानस्थल पुर्‍याइयो” डाक्टर रेग्मीले बताए ।
डाक्टर रेग्मीका अनुसार धुमाले बच्चा जन्माएपछि फोक्सो, कलेजो र स्वासप्रस्वासमा समस्या बढ्दै गएको थियो । “उहाँ काँप्दै बेहोस हुनुभयो” उनले भने– “बच्चा जन्मिनु अघिनै उहाँको रक्तचाप निकै धेरै थियो, बच्चा जन्मिएपछि स्वास्थ्य समस्या झन् बल्झियो ।”
प्रदेशको सामाजिक विकास मन्त्रालयले दुर्गम हिमाली र पहाडी क्षेत्रका सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी गम्भीर समस्या भएमा एयरलिफ्ट सेवा प्रदान गर्ने नीति बनाएको छ । सुत्केरी धुमालाई बझाङबाट नेपालगञ्ज मेडिकल कलेज (अस्पताल) पुर्‍याउन पाँच लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।