१८ वर्षको इतिहासमा पहिलो पटक घटे फेसबुकका ‘डेली एक्टिभ युजर’

१८ वर्षको इतिहासमा पहिलो पटक घटे फेसबुकका ‘डेली एक्टिभ युजर’

१८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको ‘डेली एक्टिभ युजर्स’ घटेका छन् । प्यारेन्ट कम्पनी मेटा नेटवर्कका अनुसार सन् २०२१ अन्तिम तीन महिनामा फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९२ करोडमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने फेसबुकको डेली एक्टिभ युजर्स १ अर्ब ९३ करोड थियो । 

टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वी कम्पनीका कारण आम्दानी पनि घट्न सक्ने मेटाले आशंका व्यक्त गरेको छ । विज्ञापनदाताले विज्ञापनमा खर्च कटौती गरेका कारण पनि मेटाले आम्दानी गुम्न सक्ने बताएको हो । मेटाको सेयरमा पनि २० प्रतिशतभन्दा बढी गिरावट आएको छ । बीबीसीका अनुसार सेयर मूल्यमा आएको गिरावटका कारण मेटाले २ सय अर्ब अमेरिकी डलर घाटा बेहोरेको छ । मेटासँगै ट्विटर, स्न्याप, पिन्टेरेस्टजस्ता सोसल मिडिया प्लेटफर्मको सेयर पनि घटेको छ ।

मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले युवा प्रयोगकर्ता प्रतिद्वन्द्वी कम्पनीतर्फ लागेकाले पनि आफ्नो कम्पनीले आम्दानी गुमाइरहेको बताएका छन् । गुगलपछि मेटा विज्ञापनका लागि विश्वकै सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म हो । तर एप्पलले आफ्नो अपरेटिङ सिस्टममा केही परिवर्तन ल्याएपछि मेटालाई प्रभाव परेको कम्पनीले जनाएको छ ।

मेटाका प्रमुख वित्तीय अधिकृत डेभ वेन्हरका अनुसार फेसबुक र इन्स्टाग्राममा यस वर्ष विज्ञापनमार्फत आउने झन्डै १० अर्ब डलर गुम्ने सम्भावना रहेको छ । मेटाको कूल आम्दानीको ठूलो हिस्सा विज्ञापनबाट आउने गर्छ । आउँदो त्रैमासिकमा मेटाले २७ देखि २९ अर्ब अमेरिकी डलरसम्म आम्दानीको लक्ष्य राखेको छ ।


पछिल्लो समय चिनियाँ प्रविधि कम्पनी बाइटडान्सद्वारा सञ्चालित टिकटकले फेसबुकलाई चुनौती दिएको छ । फेसबुकले टिकटकसँग प्रतिस्पर्धा गर्नकै लागि भिडियो सामग्रीमा लगानी बढाउन थालेको छ । भिडियो र भर्चुअल रियालटीमा थप लगानीले कम्पनीलाई फाइदा पुग्ने जुकर्बगको विश्वास छ ।

उत्तर अमेरिकाका लागि बीबीसीका प्रविधि संवाददाता जेम्स क्लेटनका अनुसार पछिल्लो समय युवा पुस्तामाझ फेसबुकसँगै टिकटक पनि लोकप्रिय बन्दै गएको छ । प्रत्येक त्रैमासिकमा यसअघि फेसबुकका प्रयोगकर्ता बढ्ने गरे पनि अहिले भने घटेको उनको विश्लेषण छ । टिकटकले मेटाको व्यवसायलाई चुनौती दिएको क्लेटनले उल्लेख गरेका छन् । नाम परिवर्तन गरे पनि मेटाले तत्काल मेटाभर्स बनाउने नदेखिएकाले पनि लगानीकर्ताहरू आकर्षित नभएको उनको भनाइ छ ।

सामाजिक सञ्जालको बजारमा ‘एकछत्र राज’ गरिरहेको फेसबुकले टिकटक किन्न पनि खोजेको छ । तर बजारमा एकाधिकारविरुद्धको अमेरिकी नीतिले मेटालाई त्यो प्रक्रिया भने सहज हुने छैन ।