हिमपातका कारण राष्ट्रिय प्रसारण लाइनमा समस्या, विद्युत र टेलिफोन सेवा अवरूद्ध

हिमपातका कारण राष्ट्रिय प्रसारण लाइनमा समस्या, विद्युत र टेलिफोन सेवा अवरूद्ध

बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध भएको विद्युत र टेलिफोन सेवा सञ्चालन हुन नसक्दा बझाङवासी संकटमा परेका छन् । हिमपातका कारण विद्युतको राष्ट्रिय प्रसारण लाइनमा समेत समस्या आएपछि विद्युत र टेलिफोन सेवा एकै पटक अवरुद्ध भएका हुन् ।

डडेल्धुरा, बैतडी हुँदै ल्याइएको राष्ट्रिय प्रसारण लाइनमा हिमपातका कारण ठाउँठाउँमा रुख भाँच्चिनुका साथै पोलसमेत ढलेपछि जिल्लामा विद्युत सेवा बन्द भएको छ ।

विद्युत सेवा बन्द भएपछि त्यसको प्रत्यक्ष असर टेलिफोन सेवामा परेको छ । जयपृथ्वी राजमार्ग हुँदै ल्याएको विद्युतको राष्ट्रिय प्रसारण लाइनको दैलेख श्रीभावर, विजयपुर र अनारखोलीमा पोल ढलेकाले मर्मत कार्य भइरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका प्रमुख हरेन्द्र यादवले बताए ।

पोल गाड्ने र लाइन मर्मत गर्ने काम भइरहेकाले अझै दुई-तीन दिन लाग्नेसमेत उनको भनाइ छ । सदरमुकाम चैनपुरस्थित नेपाल टेलिकमको रिपिटर टावर चार्जको अभावले बन्द भएको छ ।

मौसम सफा नभएका कारण टेलिकमका टावरमा सोलारले समेत काम गर्न छाडेकाले घाम लागेका बेला टेलिफोन आउने र घाम अस्ताउनेबित्तिकै टावर जाने समस्या आएको नेपाल टेलिकम बझाङका निमित्त प्रमुख बमबहादुर सिंहले बताए ।

जिल्लाभर रहेका झन्डै दुई दर्जनभन्दा बढी टावर सौर्य ऊर्जामा निर्भर छन् । लगातार घाम नलागेको खण्डमा टेलिफोन सेवा वर्षेनि अवरुद्ध हुँदै आएको भएपनि यसको भरपर्दो वैकल्पिक व्यवस्था गर्न नसक्दा स्थानीयले अनावश्यक हैरानी बेहोर्नुपरेको छ ।