वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने निर्णयविरुद्धको रिट दरपीठ

वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने निर्णयविरुद्धको रिट दरपीठ

स्थानीय तह निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै महोत्तरी जिल्लाको भंगहा नगरपालिका मेयर संजीवकुमार साहले सर्वोच्च अदालतमा दिएको निवेदन दरपिठ भएको छ । अदालतका रेजिष्ट्रारले निवेदन बिना आधार प्रस्तुत गरेको भन्दै दर्ता गर्न अस्वीकार गरेका हुन् ।

स्थानीय तहको पाँच वर्षको कार्यकाल नपुग्दै नयाँ चुनाव गर्न नमिल्ने दाबी गरेर मेयर साहले सर्वोच्चमा निवेदन दिएका थिए । मधेस प्रदेशका स्थानीय तहमा २०७४ असोज २ मा निर्वाचन भएको थियो । त्यसको ५ वर्ष नपुग्दै सरकारले आगामी बैशाख ३० मा निर्वाचन गराउने घोषणा गरेपछि साहले त्यसविरुद्ध निवेदन दिएका हुन् ।

स्थानीय तह निर्वाचन ऐनले विभिन्न चरणमा निर्वाचन भएपनि पहिलो चरणको मितिलाई नै निर्वाचन मिति मानिने व्यवस्था गरेकाले सर्वोच्च अदालतले वैशाख ३० गते तोकिएको निर्वाचन असंवैधानिक नभएको भन्दै निवेदन दरपिठ गरिदिएको हो ।