रकम भुक्तानी नभएपछि ठेकेदारले हटाए बजारका सौर्य बत्ती

रकम भुक्तानी नभएपछि ठेकेदारले हटाए बजारका सौर्य बत्ती

डोटी : डोटीको दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले उखेल्न सुरु गरेको छ । सम्झौता अनुसार रकम नदिएको भन्दै शनिबारबाट सरकारी अनुदानमा जडान भएका सौर्यबत्ती ठेकेदार मनिङ्ग सनले उखेल्न सुरु गरेको हो ।

पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती झिक्न लागेको ठेकेदार वेदप्रकाश कठायतले बताए । नगरपालिकाले ७ बत्तीको ७ लाख रुपैया पटक–पटक माग गर्दा पनि नदिएपछि झिक्न बाध्य भएको कठायतले बताएका छन् ।

ठेकेदारले बत्ती भिक्न लागेपछि भने स्थानीयले दुखः व्यक्त गरेका छन् । सौर्यबत्तीले बजार उज्यालो भइरहेको भन्दै बत्ती उखेल्नु भन्दा अन्य विकल्प खोजिनु पर्ने व्यापारी राजेन्द्र शाहीले बताए । ‘यो कस्तो विकास हो, भएका सौर्यबत्ती झिक्नु त लाजमर्दो कुरा हो, शाहीले भने, ‘केही समस्या भए नगरपालिका र उद्योग बाणिज्य संघले अन्य विकल्प खोज्नुपथ्र्यो ।’

डोटी उद्योग बाणिज्य संघसँग ०७३ फागुन १७ मा नगरपालिकाले सम्झौता गरि सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । उद्योग वाणिज्य संघले उक्त काम ०७३ फागुन ६ गते मनिङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।

कम्पनीले काम गरेवाफत दुई पटकको किस्ता गरि २३ लाख रुपैया भुक्तानी पाइसकेपछि अन्य रकम पाएको छैन । बाँकी रकम उद्योग बाणिज्य संघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताए। खड्काले राजनैतिक प्रतिशोध साधेर नगरप्रमुख मञ्जु मलासीले काम भएको देख्दा देख्दै पनि भुक्तानी नगरेको आरोप लगाएका छन् ।

तत्कालीन कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको र उनी सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने नगरप्रमुख मलासीले बताइन् । उनले समयमै काम सम्पन्न नगरी बिल भरपाई नदिएकाले भुक्तानी गर्न नसकेको बताएकी छिन् ।