नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण खेल स्थगित

नेपाल र मलेसियाको राष्ट्रिय फुटबल टोलीबीच आगामी चैत महिनाका लागि तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित भएको छ। 

विश्व फुटबल महासंघ (फिफा)ले मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि मैत्रीपूर्ण खेल स्थगित गर्नुपरेको मलेसिया फुटबल  संघबाट प्राप्त पत्रमा उल्लेख गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। 

एन्फाले आज विज्ञप्ति जारी गरी नेपाल र मलेसियाबीच आगामी चैत १२ गतेका लागि तय गरिएको मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो। मलेसियासँगको मैत्रीपूर्ण खेल स्थगित भए पनि नेपालले कुवेतसँग आगामी चैत ७ गते मैत्रीपूर्ण खेल हुने एन्फाले जनाएको छ। यसअघि मलेसिया र कुवेतसँग नेपालले मैत्रीपूर्ण खेल खेल्ने तय भएको थियो। 

नेपालले आगामी चैत १२ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तयारी गरेको थियो। मैत्रीपूर्ण खेलका लागि एशियाली फुटबल महासंघ (एएफसी)ले समेत अनुमति दिएको थियो। तर, मलेसियाको यस महिना कोटाभन्दा बढी खेल हुने भएको कारण (फिफा)ले अनुमति दिन अस्वीकार गरेको मलेसियाली फुटबल सङ्घलाई उढृत गर्दै एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए।