बैतडीको पाटनमा झडप ४ प्रहरीसहित ७ जना घाइते

बैतडीको पाटनमा झडप ४ प्रहरीसहित ७ जना घाइते

बैतडी : ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि दोषीमाथी कारवाही र पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै आफन्त र विद्यार्थीहरुले बैतडीको पाटनमा भइरहेको आन्दोलन उग्र बन्दै गएको छ ।

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको माग गरिरहेका विद्यार्थी र मृतकका आफन्तबिच झडप हुँदा ४ प्रहरीसहित ७ जना घाइते भएका छन् । भने प्रहरीले आन्दोलन उग्र बन्दै गएपछी १८ राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको हो ।

आन्दोलनमा उत्रिएका विद्यार्थीले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको र भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रग्यास प्रहार गर्नुपरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । इलाका प्रहरी कार्यालय भित्र घटनाका बिषयमा छलफल भइरहेका बेला एक्कासी इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ ।

आन्दोलनकर्ताको ढुंगा लागेर प्रहरी सहायक निरीक्षक चन्द्र सामन्त, प्रहरी सहायक मानसिंह पन्त, प्रहरी जवान सुरेन्द्रबहादुर बोहरा र नृपबहादुर साउँद घाइते भएका इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले बताए । घाइतेहरुको पाटनमै उपचार भइरहेको छ ।

तर विद्यार्थीहरुले भने प्रहरीले लाठीचार्ज गरेपछि मात्रै ढुंगामुढा गरेको दाबी गरेका छन् । प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित साथीहरुले ढुंगामुढा प्रहार गरेको विद्यार्थी तेजप्रसाद भट्टले बताए । प्रहरीको लाठीचार्जबाट तीन विद्यार्थी घाइते भएका छन् ।

प्रहरीको लाठीबाट घाइते भएका सिद्धबहादुर बोगटी, जयन्ती बिष्ट र तेज नेपालीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाटनमा स्थिती तनावग्रस्त भएपछि थप प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।

शनिवार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो ।

बजार क्षेत्रमा तीव्र गतिमा गुडीरहेको ग्रेडरले अनियन्त्रित भई विमानस्थल लाईनमा पैदल हिँडिरहेका पाण्डेयलाई किचेको थियो । ग्रेडरले ठक्करले पाण्डेयको घटनास्थलमै मृत्यु भए लगत्तै चालक रतन बुढा फरार रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।

फरार चालकको शनिवार बेलुका देखि नै खोजी कार्य भइरहेको भएपनि हालसम्म पनि फेला नपरेको उनले बताए । उक्त ग्रेडर पाटन विमानस्थल कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनी ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले प्रयोग गरिरहेको बुझिएको छ ।

आक्राशित आफन्त र विद्यार्थीहरुले अहिले पाटन बजार बन्द गराएर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग सुचारु गर्न तथा पीडितका माग सम्बोधनका बिषयमा इलाका प्रहरी कार्यालयमै अहिले छलफल भइरहेको छ ।