पाटनमा भएको दुर्घटनामा मृतकका आफन्तलाइ दशलाख दिने सहमति आन्दोलन स्थगित

पाटनमा भएको दुर्घटनामा मृतकका आफन्तलाइ दशलाख दिने सहमति आन्दोलन स्थगित

बैतडीको पाटनमा ग्रेडरले थिच्दा विद्यार्थीको मृत्यु भएपछि बन्द भएको दशरथचन्द राजमार्ग सुचारु भएको छ । पीडित पक्ष र निर्माण कम्पनीबीच पीडितलाई क्षतिपूर्ती बापत १० लाख रुपैया दिने सहमति भएपछि राजमार्ग सुचारु भएको हो ।

शनिवार बेलुका ६ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ बर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले थिच्दा मृत्यु भएको थियो । दोषीलाई कारवाहीको माग गर्दै आफन्त र विद्यार्थीहरुले आइतबार बिहानैदेखि सडक बन्द गराएर आन्दोलन गरिरहेका थिए ।

आन्दोलन उग्र बन्दै जाँदा आन्दोलनकारीले प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको थियो भने स्थिती नियन्त्रणमा लिन प्रहरीले १८ राउण्ड हवाईफायर र १५ सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो । आन्दोलनकारीको ढुंगा लागेर चार जना प्रहरी र प्रहरीको लाठीचार्जबाट तीन जना विद्यार्थी समेत घाइते भएका थिए ।

पीडित परिवारलाई दिने भनिएको १० लाख क्षतिपूर्ती मध्ये दुई लाख तत्कालै उपलब्ध गराउने, मृतकका परिवारलाई पाटन नगरपालिकाले किरिया खर्च उपलब्ध गराउने, घाइते विद्यार्थीहरुको उपचार लाग्ने खर्च नगरपालिकाले व्योहर्ने, ग्रेडरले भत्काएको घर निर्माण कम्पनीले बनाउने सहमति भएको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताउनुभयो ।

घटनापछि फरार रहेका चालक रतन बुढालाई सातदिन भित्र सम्पर्कमा ल्याउन निर्माण कम्पनीले सहमति जनाएको उहाँले बताउनुभयो ।’ सहमति पछि पीडित पक्षले मृतकको शव बुझ्ने तयारी गरेका छन् । शवको पोष्टमार्टम पछि आफन्तलाई शव बुझाइने इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिनुभयो ।

राजमार्ग सुचारु भएपछि बैतडी तथा दार्चुलाबाट तराईका लागि छुटेका गाडीहरु र तराईबाट आएका गाडीहरु गन्तव्य तर्फ लागेका प्रहरी निरीक्षक बोगटीले बताउनुभयो ।