थारुहट थारुवान आन्दोलन गर्ने तयारी

थारुहट थारुवान आन्दोलन गर्ने तयारी

टीकापुर घटनामा दोषि ठहर गरी कैलाली जिल्ला अदालतले सांसद रेशमलाल चौधरी सहित ११ जनालाई जन्मकैदको सजाय सुनाएपछि तत्कालीन आन्दोलनरत पक्षले फेरी आन्दोलन गर्ने तयारी भइरहेको जनाएको छ ।

सोही घटनामा तीन बर्षको जेल सजाय सुनाइएका लक्ष्मण चौधरीले कैद अवधि भुक्तान गरी राजधानी काठमाण्डौंबाट कैदमुक्त भएर सोमबार गृह जिल्ला कैलाली पुगेर न्यायिक संघर्षका लागि उच्च अदालतमा पुनरावेदन गरिने बताउनुभयो ।

उहाँले राजनीतिक तहबाट हुन नसकेको काम अदालतबाट भएको भन्दै जिल्ला न्यायधीश परशुराम भट्टराईको प्रशंशा गर्नुभयो । फागुन २२ गते लक्ष्मणसहित १५ जना कैद मुक्त भए पनि लक्ष्मण केन्द्रीय कारागार रहेकाले आइतबार मात्र धनगढी पुग्नुभएको हो ।

धनगढी पुगे लगत्तै पत्रकार सम्मेलन गर्दै थारुले कैलाली जिल्ला अदालतले गरेकोले निर्णयको सम्मान गर्दै थप न्यायका लागि पुनरावेदनदेखि सर्वोच्च अदालतसम्म जाने बताउनुभयो ।थारुहरु आतंकवादी नभएको बताउँदै लक्ष्मणले दुई तिहाईको बर्तमान कम्युनिष्ट सरकार समयमै सचेत भएन भने ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिनुभयो ।

आफूहरुमाथि परेको अन्यायका विरुद्ध कानुनी लडाई लडने र थारुहरुको माग सम्बोधनका लागि तत्काल सडक संघर्षमा जाने थारुको भनाई छ । ‘२०६५ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग भएको ६ बुँदे सहमति कार्यान्वयनका लागि सबैसँग छलफल गरि सडक संघर्ष घोषणा गर्ने उहाँको भनाई छ ।