प्रथम "मुख्यमन्त्री कप" को तयारी अन्तिम चरणमा

प्रथम "मुख्यमन्त्री कप" को तयारी अन्तिम चरणमा

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन गइरहेको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकूद प्रतियोगिताको तयारी अनितम चरणमा पुगेको छ । 

क्रिकेट, भलिबल, फुटबल र ब्याडमिन्टन गरी चार खेल रहेको प्रतियोगिताको औपचारिक उद्घाटन प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराबाट चैत १ गते हुनेछ ।

प्रतियोगिता अन्तर्गत खेलाइने खेलहरुको लागि पूर्वाधार निर्माण तर्फ सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजक सामाजिक विकास मन्त्रालयले जनाएको छ । खेलकूद प्रतियोगिता आयोजनाका लागि बनाइएका उपसमितिहरुले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

मुख्यमन्त्री कप प्रतियोगिता अन्तर्गत खेलाइने भलिबल प्रतियोगिताका लागि कोर्ट बनाउने काम अन्तिम चरणमा छ । पुरुष भलिवल प्रतियोगिताका लागि कोर्ट तयारी अवस्थामै रहे पनि मलिा भलिबलका लागि नया कोर्ट बनाइएके छ ।

कोर्ट बनाइ सकिएको र प्राविधिक टीमसित सल्लाह भइरहेको भलिबल उप समितिका संयोजक तिलक चौधरीले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि रेफ्री सहितको प्राविधिक टोली उपलब्ध गरााइदिन नेपाल भलिबल संघलाई पत्राचार गरिएको र खेल शुरु हुनुभन्दा दुई दिन पहिले सबै प्राविधिकहरु खेल स्थल सम्म आइपुग्ने उहाँले बताउनुभयो । 
 

ब्याडमिन्टनककका लागि कोर्ट तयारी अवस्थामै रहेपनि त्यसमा आवश्यक मर्मत गर्ने काम सम्पन्न गरिएको छ । प्रतियोगितामा ब्याडमिन्टन तर्फको उपसमितिका संयोजक समेत रहनुभएका ब्याडमिन्टन संघका केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले प्रतियोगिताको तयारी प्राविधिक रुपमा पुरा भएको बताउनुभयो । यस्तै फुटवल तर्फको तयारी समेत पुरा गरिएको उपसमितिका संयोजक तेजेन्द्र थापाले बताउनुभयो ।

फुटवल प्रतियोगिता औपचारिक उद्घाटन हुनु भन्दा दुई दिन अगावै शुरु हुने छ । प्रतियोगित अन्तर्गत १३ वटा खेलहरु हुने भएकोले सबै खेल धनगढी रंगशालामा गर्न सम्भव नभएपछि धनगढी उपमहानगरपालिकाको वडा नम्बर १४ फूलबारीको मैदान समेत तयार गरिएको संयोजक थापाले जानकारी दिनुभयो । उहाँले एन्फा र फिफाको मान्यता पाएको प्राविधिक टोलीले प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो । 

फुटबल प्रतियोगिता भने पुरुष तर्फ मात्रै हुनेछ । अन्य खेलहरुमा महिला र पुरुष दुबै टीमले प्रतिष्पर्धा गर्ने छन् । क्रिकेट प्रतियोगिताका लागि आवश्यक सामग्रीहरु ढुवानी भइरहेको छ भने मैदान तयारी समेत अनितम अवस्था पुगेको छ ।

क्रिकेट प्रतियोगिता सञ्चालन उप समितिका सह संयोजक बाबुराजा श्रेष्ठका अनुसार सुदूरपश्चिम प्रदेशको दुबै टीमलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिने  काम भइरहेको छ । उहाँले प्रतियोगिताको तयारी पुरा भएको बताउनुभयो ।

क्रिकेट अन्तर्गत पुरुषतर्फको खेल फाप्ला मैदानमा र महिला तर्फको खेल संघीय प्रहरी इकाई कार्यालयको मैदानमा आयोजना हुने छ । सह संयोजक श्रेष्ठले खेलका लागि नेपाल क्रिकेट संघबाट मानयता पाएका अम्पायरहरु समेत रहेको प्राविधिक समिति गठन गरिएको बताउनुभयो । 

क्रिकेट समेत औपचारिक उद्घाटन भन्दा दुई दिन पहिले शुरु हुने छ । प्रतियोगिताको औपचारिक उद्घाटनका लागि समारोहस्थल धनगढी रंगशालामा तयारी भइरहेको छ । प्रतियोगिताको उद्घाटन समारोहमा सातै प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थिति रहने आयोजक सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।