सुदूरपश्चिममा पनि स्थानीय निर्वाचनको तयारी तीव्र, कैलालीमा ५ मतदान केन्द्र थपिए

सुदूरपश्चिममा पनि स्थानीय निर्वाचनको तयारी तीव्र, कैलालीमा ५ मतदान केन्द्र थपिए

धनगढी । नेपाल सरकारले स्थानीय निर्वाचन आउँदो वैशाख ३० गतेका लागी तय गरे सँगै सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले पनि निर्वाचनको तयारी तीव्र रूपमा अगाडी बढाएको छ । शुक्रवार छैटौँ निर्वाचन दिवसको पूर्व सन्ध्यामा सरोकारवालाहरू सँगको अन्तरक्रियाका क्रममा प्रदेश निर्वाचन कार्यालयले आफ्नो काम कारबाही तीव्र रूपमा अगाडि बढाएको जानकारी दिएको हो । 

निर्वाचन आयोगले वि.सं. २०७३ साल देखी निर्वाचन दिवस मनाउँदै आइरहेको छ । यस वर्ष पनि फागुन ७ गते निर्वाचनमा सबै सधैँ सँगै भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी निर्वाचन आयोगले देशैभर छैटौँ निर्वाचन दिवस मनाइरहेको छ ।  सोही अन्तरगत सुदूरपश्चिम प्रदेश निर्वाचन आयोगले पनि बिहीबार वृक्षारोपण, कार्यालय परिसर सर-सफाइ बिहीबार साँझ र शुक्रवार बिहान ब्याडमिन्टन प्रतियोगिताको समेत आयोजना आयोजना गरी विभिन्न कार्यक्रमका साथ दिवस मनाई रहेको निर्वाचन आयोग सुदूरपश्चिम प्रदेशका निमित्त कार्यालय प्रमुख प्रेमराज भट्टले जनाकारी दिनुभयो । 

नेपाल सरकारले आउँदो वैशाख ३० गतेका लागी तोकेको स्थानीय निर्वाचन सम्पन्न गर्नको लागी प्रदेश निर्वाचन कार्यालय कैलालीले पनि आफ्नो काम कारबाहीलाई तीव्र रूपमा अगाडी बढाई राखेको र यही फागुन १९ गते देखी हरेक स्थानीय तहको मतदाता नामावली सार्वजनिक गर्नुका साथै २६ गते भित्र दाबी विरोधका लागी प्रकाशन गर्ने लगायतको काम सम्पन्न गरिसक्ने प्रमुख भट्टले जानकारी दिनुभयो । ''यो काम सम्पन्न गरे लगत्तै निर्वाचन आयोगले आउँदो वैशाख ३० गते मतदानका लागी मतादाताका रूपमा सहभागी हुने मतदाता नामावलीको अन्तिम तयारी गर्ने छौँ । भने कैलालीमा २ सय ३१ वटा मतदान केन्द्र रहेकोमा अहिले ५ ओटा मतदान केन्द्र थप गरेका छौँ । थप गरिएका लगाएर २ सय ३६ ओटै मतदान केन्द्रको प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय लगायतको समन्वयमा अनुगमन कार्य समेत अगाडी बढाउने छौँ । र निर्वाचन सम्पन्न गर्नको निम्ति आवश्यक पर्ने जनशक्ति समेत आकलन गर्ने काम लगायतका कुराहरू मा निर्वाचन आयोग सुदूरपश्चिम प्रदेश तीव्र रूपमा लागेको छ ।'' उहाँले भन्नुभयो । 

आम मतदाताहरूले आफ्नो मतदाता नामावली हेर्नको लागी निर्वाचन आयोगको वइभसाइट https://election.gov.np/np र प्रदेश निर्वाचन कार्यालयमा समेत फोन गरी थाहा पाउन सकिने भएकोले आफूलाई सहज लाग्ने माध्यमको प्रयोग गर्न समेत आम नागरिकमा अनुरोध गर्नुभएको छ । 

त्यस्तै, अन्तरक्रियाका क्रममा जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आउँदो निर्वाचन सफल पार्न सबै क्षेत्रबाट सहयोग मिल्ने र उत्साह पूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । ''अहिले हाम्रो निर्वाचन आयोगले व्यवस्था गरे अनुसारको अवस्था अनुसार हामी आउँदो निर्वाचनमा सक्रिय भएर अगाडी बढ्ने छौँ । मतदाताको सङ्ख्या बढेअनुसार गुणात्मक परिणाम आउनेछ भन्ने कुरामा विश्वास व्यक्त गर्न चाहन्छु ।'' उहाँले भन्नुभयो । 

यसै क्रममा प्रदेश निर्वाचन कार्यालय कैलालीले उत्कृष्ट कार्यसम्पादन गर्ने एक कर्मचारीलाई सम्मान गरेको छ । कार्यालयले छैटौँ निर्वाचन दिवसको अवसरमा ३ हजार नगद र प्रमाण पत्र सहित कार्यालय सहयोगी भगीरथ रानालाई सम्मान गरेको छ । 

अन्तरक्रिया कार्यक्रममा कैलाली जिल्ला स्थित राजनीतिक दलहरू क्रमशः नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी, जनता समाजवादी, परिवार दल र मङ्गोल सङ्गठन नेपाल लगायतका पार्टीका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो ।