मतदाता परिचयपत्र हराएको भए नयाँ बनाउनका लागि निवेदन दिन आयोगको आग्रह

मतदाता परिचयपत्र हराएको भए नयाँ बनाउनका लागि निवेदन दिन आयोगको आग्रह

निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको भएमा नयाँ बनाउनको लागि निवेदन आह्वान गरेको छ ।चुनावमा मतदान गर्नका लागि मतदाता परिचयपत्र आवश्यक पर्ने भएकाले यसअघि लिएको परिचयपत्र हराएको भएमा नयाँ बनाउनका लागि आयोगले आग्रह गरेको हो ।

परिचयपत्र हराएको वा नष्ट भएको भएमा फागुन २० गतेसम्म निवेदन दिन सकिने छ । आफ्नो नामावली रहेको वडा कार्यालयको सिफारिससहित स्वयम् व्यक्ति जिल्ला निर्वाचन कार्यालयमा गएर आउँदो २० गतेभित्र निवेदन दिन सकिने आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र लिनको लागि कुनै शुल्क लाग्दैन । यसअघि लिइएको मतदाता परिचयपत्र भएकाहरुले भने त्यही परिचयपत्र लिएर मतदानमा सहभागी हुन पाउने निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले जानकारी दिनुभयो ।