पहिलोपटक कुखुराको सौन्दर्य प्रतियोगिता !

पहिलोपटक कुखुराको सौन्दर्य प्रतियोगिता !

लिबियाको राजधानी ट्रिपोलीमा एक अनौठो र आश्चर्यजनक समारोह आयेजना गरिएको छ । यस कुखुराको सौन्दर्य प्रतियोगिता कार्यक्रमले देशभरबाट धेरै सहभागी र अतिथिहरुलाई आकर्षित गराएको छ । 

आयोजकहरुका अनुसार वास्तवमा यो कार्यक्रम कुखुरा पालकहरुलाई प्रचार गर्नु र युवाहरुलाई देशमा बढ्दो युद्धको माहोलबाट निकाल्नु रहेको थियो । 

समारोहका सुपरभाइजर खलिद डिआब भन्छन्, “हामीले यहाँ  देशभरका व्यवसायिक कुखुरा पालकहरुलाई भेला गर्न सफल भएका छौँ । यो भनेको वास्तवमै एकदम महत्वपूर्ण पेशा हो जसले युवाहरुलाई नकारात्मक माहोल र युद्धबाट टाढा रहेर अन्यत्रै कुरामा संलग्न रहन मद्दत गर्न सक्छ । ”

डिआबका अनुसार यस समारोहमा सहभागी भएका सबै चरा अन्तर्राष्ट्रिय प्रतिस्पर्धासम्म पुग्न योग्य खालका थिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यसमा कुखुराहरुलाई रङ, आकार, तौल अनि तिनको प्वाँख कत्तिको चम्किलो छ भन्ने आधारमा मूल्यांकन गरि विजेताको घोषणा गरिएको थियो ।

समारोहमा उपस्थित भएका टेहेर बेल्कासेमले रोयटर्ससँग कुनर गर्दै आफूले यस किसिमको कार्यक्रम पहिलोपटक अनुभव गरेको बताए । उनी भन्छन्, “मैले यसअघि साधारण कुखुरा मात्र देखे सुनेको थिएँ । यो वास्तवमै एकदम उल्लेखनीय सुरुवात हो र आयोजकहरुको सम्पूर्ण प्रयासका लागि म धन्यवाद दिन चाहन्छु ।”

प्रतिस्पर्धामा सबैभन्दा उच्च स्कोर, ९३.८ ल्याएर विजयी हुन सफल मोहन्नाद जेयेदको ब्रम्मा कुखुराबारे उनले यस्तो भने, “यो कुखुरा यसको ठूलो आकार र पहेँलो खुट्टाका लागि एकदमै प्रख्यात छ । साथै यसका पखेँटा एकदम चमकदार र नरम हुन्छन् ।”