एमसीसी पारित गर्ने तयारीका साथ संसद् बैठक आज बस्दै

एमसीसी पारित गर्ने तयारीका साथ संसद् बैठक आज बस्दै

आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ।

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको हो। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन्।

यसअघि एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनका दल सहमत नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक पटकपटक सारिएको थियो।

बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजे र शुक्रबारका लागि तोकिएको बैठक आइतबारका लागि सारिएको हो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि थप छलफलका लागि बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको हो।

सत्ता गठबन्धन र विपक्षी दलसँग प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्न सहयोगका लागि अनुरोध गर्नुभएको छ। विभिन्न चरणमा भएका छलफलमा एमसीसी अगाडि बढाउने विषयमा दलहरु सहमति नजिक पुगेको बताइएको छ।

प्रतिपक्षी दल एमालेले पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसक्ने अडान लिएको छ। एमालेको यो अडानपछि प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सत्ता गठबन्धनभित्रै सहमति खोजेका हुन्।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको व्याख्यात्मक घोषणासँगै पारित गर्ने तयारी गरेका छन्। संसद बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिमा कार्यसूचीमाथि छलफल हुनेछ।

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्। समितिको बैठक नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। बैठकले कार्यसूचीको तय गर्नेछ। त्यसअघि सत्ता गठबन्धनका नेताबीच एमसीसीको विषयमा थप छलफल हुँदैछ।