धनगढीको एसपीए कलेज र युनिग्लोब कलेज बीच समझदारी

धनगढीको एसपीए कलेज र युनिग्लोब कलेज बीच समझदारी

धनगढी । धनगढीको सुदूरपश्चिमञ्चल एकेडेमी (एसपिए) र काठमाण्डौको युनिग्लोब कलेजबिच आपसी सहयोग आदानप्रदान तथा प्राज्ञिक गतिविधि सञ्चालन सम्बन्धी समझदारी भएको छ ।

धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिमञ्चल एकेडेमीका अध्यक्ष योगेन्द्र बहादुर शाही र युनिग्लोब कलेजका प्रबन्ध निर्देशक तथा प्रिन्सिपल डाक्टर नरबहादुर विष्टबिच समझदारी पत्र आदानप्रदान भएको छ । 

समारोहमा सुदूरपश्चिमञ्चल क्याम्पसका क्याम्पस प्रमुख योगराज उपाध्याय तथा कार्यक्रम निर्देशकहरू र युनिग्लोब कलेजका प्राज्ञिक निर्देशक डक्टर राधेश्याम प्रधान, निर्देशक डक्टर गंगाधर दाहाल र कार्यक्रम निर्देशक अनन्त घिमिरे लगायतको सहभागिता रहेको थियो ।

सम्झौता अनुसार दुई शैक्षिक संस्थाहरूबिच शैक्षिक र अनुसन्धानका लागि सहकार्य हुनेछ । यस अन्तर्गत संकाय र कर्मचारी सदस्यहरूको आदानप्रदान तथा विद्यार्थी आदानप्रदान गरिनेछ ।

आपसमा संयुक्त अनुसन्धान र परियोजना कार्यहरू सञ्चालन गर्ने र शैक्षिक एवं प्राज्ञिक अभिवृद्धिका लागि संयुक्त सम्मेलन र सेमिनार आयोजना गरिने क्याम्पसले जनाएको छ ।

सुदूर पश्चिमाञ्चल क्याम्पसका प्रमुख योगराज उपाध्यायले यस सम्झौताले दुवै संस्थाबिच संयुक्त सांस्कृतिक आदानप्रदान कार्यक्रम सहित संयुक्त परामर्श सेवाहरू सञ्चालन गर्न सहयोग पुग्ने बताए। दुई शैक्षिक संस्थाहरू बिचको सामञ्जस्यपूर्ण सम्बन्ध बढाउन अन्य सहयोगी गतिविधिहरूसमेत सञ्चालन गरिने उपाध्यायको भनाई छ ।