सेना दिवसको अवसरमा भलिबल प्रतियोगिता सुरु

सेना दिवसको अवसरमा भलिबल प्रतियोगिता सुरु

दार्चुला । सेना दिवस तथा महाशिवरात्रीका अवसरमा दार्चुलामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आइतबार एक कार्यक्रमकाबीच दार्चुलास्थित नेपाली सेनाको विकास निर्माण कार्यदल-२ गणका गणपति रमेश गुरुङ्गले उद्घाटन गरे । गणपति गुरुङ्गले रेफ्री श्यामराज अवस्थीलाई भलिबल हस्तान्त्रण गर्दै प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । 

सेना–नागरिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गुरु गोरख गुल्म दार्चुलाका सेनानी कृष्ण चन्द्र ठकुल्लाले बताए । गुल्मको आयोजनामा संचालन गरिएको प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, पत्रकार महासंघ, भीडी जोशी प्रतिष्ठान, महाकाली नगरपालिकाको टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको पहिलो खेल अन्तर्गत आयोजक गुरु गोरख गुल्म र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाबीच भएको थियो । प्रतियोगितामा स्थान हासिल गर्ने तथा सहभागी टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिने सेनाले जनाएको छ ।