जनगणनाको नतिजाप्रति धेरै गाउँपालिका असन्तुष्ट , आफैंले खटायो गणकहरु

जनगणनाको नतिजाप्रति धेरै गाउँपालिका असन्तुष्ट , आफैंले खटायो गणकहरु

रामेछापको खाँडादेवी गाउँपालिकाका घरघरमा गणकहरु पुग्दैछन् ।

उनीहरु केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा चित्त नबुझेर गाउँपालिका आफैंले खटाएका गणकहरु हुन् । गाउँपालिकालले घर तथा घरपरिवार सूचीकरण सकेपछि गणक र सुपरीवेक्षकहरु खटाएको हो ।

जनगणना २०७८ को प्रारम्भिक नतिजामा खाँडादेवी गाउँपालिकाको जनसंख्या १९ हजार ३८१ देखिएको छ ।

जबकी मतदाता संख्या २२ हजार ४०० छ । २०६८ सालको जनगणनामा २५ हजार ७०० जनसंख्या देखिएको गाउँपालिकामा स्थानीय तहले २ वर्षअघि गरेको अध्ययनमा जनसंख्या ३३ हजार देखिएको थियो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ गाउँका धेरै जनाले आफ्नो घरमा गणक नै नपुगेको गुनासो गरेको र जनगणनाको तथ्यांकमा पनि ठूलो अन्तर देखिएपछि आफैंले जनगणना गर्न लागेको बताउँछन् ।

‘तथ्यांक फरक परेपछि हामीले विभागकै विधि–प्रक्रियाअनुसार गणना गरिरहेका छौं,’ उनले भने, ‘चैत १५ मा हामी नतिजा सार्वजनिक गर्छौं ।’ उनका अनुसार गाउँपालिकाले बसोबासका आधारमा जनगणना गरिरहेको छ र स्थायी बसोबास गर्नेहरुको मात्र जनसंख्या घोषणा गर्ने छ ।

चुनाव नजिकिएकाले जनप्रतिनिधिले तथ्यांकमा राजनीति गर्न खोजेको हुनसक्ने तथ्यांक विभागका अधिकारीहरु बताउँछन् ।

केन्द्रीय तथ्यांक विभागले गत कात्तिकमा राष्ट्रिय जनगणना गरेको थियो । २४ माघमा प्रारम्भिक नतिजा आएपछि सामाजिक सञ्जालमा धेरैले जनगणनाका लागि गणकहरु आफ्नो घरमा नआएको गुनासो गरेका थिए । त्यस्तै गुनासोका आधारमा कतिपय स्थानीय तहले आफैं जनगणना गर्न थालेको छ ।

स्थानीय तहले आफूखुसी जनगणना गर्न थालेकामा केन्द्रीय तथ्यांक विभागले असहमति जनाएको छ ।

तर स्थानीय जनप्रथिनिधि रोकिएका छैनन् । त्यसमध्ये एक हो, जुम्लाको चन्दननाथ नगरपालिका । जनगणना २०७८ को प्रारम्भिक तथ्यांकले सही नतिजा नदिएको शंका गर्दै उसले पनि जनगणना थालेको छ ।

२०६८ मा २० हजार ८८५ जनसंख्या रहेको चन्दननाथमा अहिले २० हजार ९२१ जनाको मात्र बसोबास रहेको देखिएको छ । १० वर्षमा जनसंख्या ३६ जना मात्रै बढेको तथ्य स्वीकार्न नसकेपछि गणकलाई घर–घरमा पठाएको चन्दननाथकी मेयर कान्तिका सेजुवालले बताइन् ।

उनका अनुसार स्थानीय जनप्रतिनिधिसहित सर्वासाधारणसँग छलफल गर्दा धेरै व्यक्ति गणनामा नपरेको थाहा भएपछि पुनः जनगणना थालिएको हो । ‘एक–एक जनाको तथ्यांक लिएर विभागसँग छलफल गर्छौं,’ उनले भनिन्, ‘हामीले संकलन गरेको तथ्यांकलाई विभागले मान्यता दिनुपर्छ ।’

खाँडादेवी र चन्दननाथको जसरी आफैं जनगणना सुरु नगरेपनि धेरै स्थानीय तहमा असन्तुष्टि छ । बाजुराको गौमुल गाउँपालिकाले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै तथ्यांक कार्यालय बाजुरामार्फत प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्यांक विभागमा ध्यानाकर्षण पत्र पठाएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता रोकाया थापाले १० वर्षको अवधिमा गाउँपालिकामा २५० मात्रै जनसंख्या बढेको देखिएको र यो गलत रहेको बताइन् । उनका अनुसार २०६८ मा ८ हजार ५१५ रहेको जनसंख्या अहिले ८ हजार ७६५ मात्रै पुगेको छ । नयाँ जनसंख्या विवरणले गाउँपालिकाको वास्तविक तथ्यांक नसमेटेको बताउँदै उनले भनिन्, ‘यस्तो गलत तथ्यांक सच्याउनैपर्छ ।’

उपाध्यक्ष थापाका अनुसार २०७५ सालमा घरदैलो गरेर गाउँपालिका आफैंले ‘पार्श्वचित्र’ बनाउँदा १० हजार ६९४ जनसंख्या देखिएको थियो । अहिले राष्ट्रिय जनगणनामा अनुमान भन्दा निकै कम जनसंख्या देखिकाले गाउँपालिकाले संघीय सरकारसँग सच्याउन माग गरेको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका पनि जनगणनाको प्रारम्भिक नतिजामा खुसी छैन । दुई वर्षअघि आर्थिक वर्ष २०७५र०७६ मा गरेको ‘गाउँ विकास योजनाको लागि घरधुरी सर्वेक्षण’मा राष्ट्रिय जनगणनामा ६ हजार १४५ जना कम बसोबासी देखिएको गाउँपालिकाको भनाइ छ ।

दुई वर्षअघि ३० हजार ४४३ जना जनसंख्या रहेको गाउँपालिकामा अहिले २४ हजार २९८ जना मात्रै रहेको विवरणआएको छ । गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी ६ महिना लगाएर गरिएको सर्वेक्षणको नतिजालाई १५ दिने जनगणनाले चुनौती दिन नसक्ने बताउँछन् ।

‘पछिल्लो जनगणना यथार्थपरक देखिएन’, उनले भने, ‘कसको घरमा बच्चा जन्मियो रु को बित्यो रु को कहाँ बसाइ सरे भन्ने व्यक्तिगत घटना हामीकहाँ दर्ता छ ।’

सल्यानको दार्मा गाउँपालिका पनि जनगणनाको नतिजाप्रति असन्तुष्ट छ । हालको जनगणनाअनुसार दार्मामा १० वर्षमा ३२ जना मात्रै बढेकोमा गााउँपालिका अध्यक्ष निमबहादुर केसीले सामाजिक सञ्जालमै असन्तुष्टि पोखेका छन् ।

‘जनगणना स्थानीय तहबाट संकलन गर्नु उपयुक्त हुन्छ,’ फेसबुकमा उनले लेखेका छन्, ‘राष्ट्रिय जनगणना २०७८ को तथ्यांक गलत छ, यसको राष्ट्रिय समीक्षा जरुरी छ, पुनर्विचार गरिनुपर्छ ।’

रसुवाको नौकुन्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले पनि जनगणनाको तथ्यांकमाथि प्रश्न उठाएकी छिन् । १० बर्षमा २७१ जनामात्रै जनसंख्या बढेको देखिने गरी आएको तथ्यांकको विश्वसनीयता कमजोर रहेको उनले बताएकी छन् ।

उनले गाउँपालिकाको ‘भिलेज प्रोफाइल २०७६’ को भन्दा दुई हजार ६९ कम जनसंख्या देखिएकाले ‘तथ्यांक नै मिथ्याङ्क बनिरहेको त छैन रु’ भनेर प्रश्न गरेकी छिन् ।