कैलाली कांग्रेस सभापतिका लागि मतदान सम्पन्न, आजै मतगणना हुने

कैलाली कांग्रेस सभापतिका लागि मतदान सम्पन्न, आजै मतगणना हुने

धनगढी । नेपाली कांग्रेस कैलालीको नयाँ सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएको छ। 

आइतबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापपित चयन गर्न दोस्रो चरणको मतदान भएको हो।

कूल २ हजार ५७६ मतदाता रहेकोमा दोस्रो चरणको मतदानमा २ हजार ४६७ मत खसेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए। 

कैलाली कांग्रेस सभापतिका लागि नारायण भट्ट र प्रकाशबहादुर बम चुनावी प्रतिस्पर्धामा छन्। पहिलो चरणमा बम पहिलो स्थानमा थिए भने भट्ट दोस्रो स्थानमा थिए। तेस्रो स्थानमा आएका राम बहादुर कलेलले दोस्रो चरणमा बमलाई सघाउने निर्णय गरेका थिए। 

भट्ट र बम दुबै संस्थापन सभापति शेरबहादुर देउवा निकट भएपनि कांग्रेस संस्थापनले भट्टलाई आधिकारिक उम्मेदवार बनाएको छ।

निर्वाचन अधिकृत सुवेदीले बिहीबार नै मतगणना गरिने जानकारी दिए।