कैलालीको घोडाघोडी ताल क्षेत्र नेपालको पहिलो पन्छी अभयारण्य घोषणा

कैलालीको घोडाघोडी ताल क्षेत्र नेपालको पहिलो पन्छी अभयारण्य घोषणा

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा अवस्थित विश्व राम सार क्षेत्रमा सूचीकृत घोडाघोडी सिमसारलाई प्रदेश र स्थानीय सरकारले घोडाघोडी पन्छी अभयारण्य (बर्ड सेन्चुरी)  घोषणा गरेका छन् । वि.सं. २०७८ साल फागुन २७ गते शुक्रकार एक कार्यक्रमका बिच घोडाघोडी पन्छी अभयारण्य घोषणा गरिएको हो । 

घोडाघोडी सिमसार क्षेत्रमा दुर्लभ पक्षी र तिनको वासस्थानलाई संरक्षण गर्नुका साथै थारु जातिका इतिहास, परम्परा र संस्कृतिको संरक्षण गर्ने हेतुले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामी तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले संयुक्त रूपमा घोडाघोडी पन्छी अभयारण्य स्मारक अनावरण गरी सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ बमोजिम घोडाघोडी पन्छी अभयारण्य क्षेत्र घोषणा गरे सँगै घोडाघोडी नेपालको पहिलो अभयारण्य क्षेत्र बनेको छ ।

उक्त ऐतिहासिक कार्य गरेकोमा स्थानीय तथा अन्य सहभागी नागरिकहरूले घोडाघोडी नगरपालिका र प्रदेश सरकारलाई धन्यवाद दिएका छन् । 

सरकारले घोडाघोडी क्षेत्रलाई बर्ड सेन्चुरी घोषणा गरेकोमा खुसी व्यक्त गर्दै चरा विद हिरुलाल डगौराले घोडाघोडी पन्छी अभयारण्य घोषणा हुनु ऐतिहासिक दिन भएकोमा खुसी व्यक्त गर्दै विभिन्न चराहरूको मिश्रण वास स्थानका रूपमा रहेको घोडाघोडी ताल क्षेत्रको संरक्षणका लागी महत्त्वपूर्ण भूमिका खेल्ने बताए । “आज प्रदेश सरकारले ऐतिहासिक कदम चालेको छ । यो हामी संरक्षण कर्मीहरू र प्रदेश वासीको लागी खुसीको कुरा हो । यो विभिन्न प्रकारका मिश्रित चराचुरुङ्गीको वास स्थान हो । अझ पनि यहाँ को चुनौंति नै संरक्षण सुरक्षा नै हो” उनले भने ।

त्यस्तै, उद्योग, पर्यटन वन तथा वातावरण वन मन्त्रालयका सचिव देवेश मणि त्रिपाठीले घोडाघोडी पन्छी अभयारण्य  घोषणा नेपालमै पहिलो र महत्त्वपूर्ण कार्य भएको र यो क्षेत्र नेपालकै सबै भन्दा ठुलो वाटर सिस्टम भएको बताए । उनले यो क्षेत्रले विभिन्न थारु समुदायको मौलिकतालाई झल्काउने र आन्तरिक तथा बाह्य प्रर्यटकको प्रमुख आकर्षणको केन्द्र विन्दु भएको बताए ।  “यसले नेपाललाई विश्व सामु चिनाउन अझ मदत पुग्ने त्रिपाठीको भनाई छ । हामीले यसलाई पर्यटकीय र संरक्षण दुवै तवर बाट अगाडी बढाउन सके यहाँको आर्थिक वृद्धि विकासमा समेत टेवा पुग्ने छ । हामीहरूले मसिनो ढङ्गले यहाँको रैथाने र वाहीबाट आउने चराहरू बारे अध्ययन अनुसन्धान गरिरहेका छौँ । चाँडै सो बारे कार्यविधि र निर्देशिकाहरू जरी गर्दै छौँ ।” घोडाघोडी क्षेत्र भित्र पर्ने १४ वटा सामुदायिक वनहरू को अधिकारलाई यथावत् राख्दै यहाँका नागरिकको पनि संरक्षण प्रचार प्रवर्द्धनमा सहभागी गराउँदै उदाहरणीय पन्छी अभयारण्य बनाउने त्रिपाठीको भनाई थियो ।

यस्तै, घोडाघोडी नगरपालिका प्रमुख ममता प्रसाद चौधरीले घोडाघोडी पन्छी अभयारण्य घोषणाका लागी सहयोग गर्ने प्रदेश सरकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिक, बुद्धिजीवी, पत्रकार र आफ्नो नगर कार्यपालिकाका वडा अध्यक्ष तथा कर्मचाहरुलाई धन्यवाद दिँदै घोडाघोडी ताल क्षेत्र पन्छी अभयारण्य भए सँगै नगरपालिकाकालाई थप जिम्मेवारी बढेको बताए । यस सँगै यहाँको संरक्षण तथा पर्यटकीय दृष्टिकोणले हबका रूपमा स्थापित गर्न सबै सरकारले निरन्तर बजेट उपलब्ध गराउन पनि आग्रह गरेका छन् । “यो प्रदेश सरकार र नगरपालिकाको ठुलो उपलब्धि हो ।यसको निरन्तर संरक्षण तथा पर्यटकीय दृष्टिकोणले हबका रूपमा स्थापित गर्न सबै सरकारले बजेट उपलब्ध गराउन आग्रह गर्द छु ।” उनले भने ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मान बहादुर धामी (सन्तोष) ले घोडाघोडी पन्छी अभयारण्य  क्षेत्रको संरक्षण गर्नु पहिलो दायित्व स्थानीयहरूको रहेको र यो ठाउँको सुरक्षाको निम्ति सदैव अग्र मोर्चामा रहन आग्रह गरे । नेपालको पहिलो पन्छी अभयारण्य  घोषणा गर्न पाउँदा खुसी भएको धामीले बताए । मन्त्री धामीले घोडाघोडी पन्छी अभयारण्य  घोषणा हुनुको महत्त्व र आवश्यकता बुझ्न आग्रह गर्दै तिन ओटै सरकारको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने प्रतिबद्धता जाहेर गरे । “अब देखी घोडाघोडी क्षेत्र भित्र रहेका चराहरूको बास स्थान भित्र संरक्षण गर्ने लोप उन्मुख चराहरूको संरक्षण गर्दै प्राकृतिक इको पार्कका रूपमा अगाडी बढाएर नेपालको मात्र नभई अन्तर्राष्ट्रिय पर्यटकहरूको समेत यहाँ ध्यानाकर्षण गर्न प्रदेश सरकार सधैँ लागी राख्ने छ । भने यहाँका स्थानीयले पनि महत्त्वपूर्ण भूमिका खेल्ने छन् ।” उनले भने ।   

यस्तै, घोडाघोडी पन्छी अभयारण्य घोषणा समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पन्छी अभयारण्य क्षेत्रको संरक्षणको दायित्व सबैको रहेको बताउँदै घोषणा गरेर मात्रै नहुने बताए । मुख्यमन्त्री भट्टले घोडाघोडीको धार्मिक र प्राकृतिक ऐतिहासिकता बचाउने गरी स्थानीय नागरिक देखी सबैले संरक्षण गर्न आह्वान गर्दै प्रदेश सरकारले घोडाघोडी बर्ड सेन्चुरी क्षेत्रमा भ्यु टावर बनाउने घोषणा गरेका छन् । “सरकारले घोषण गर्‍यो भनेर ढुक्क नबस्नु होला, सबै स्तरबाट विशेष गरी यहाँका स्थानी उपभाक्ताहरुको पहल जो अहिले पंन्छि अभायरण्य घोषणा गर्न सम्म भूमिका खेल्नु भएको छ । त्यसै गरी अझ थप जिम्मेवार भएर स्थानीय र प्रदेश सरकारलाई सघाउनु हुने छ । यहाँ एउटा अग्लो भ्यु टावर प्रदेश सरकाले बनाउने छ । आगामी वर्षको बजेटमा जति नै पैसा लागे पनि यहाँ प्रदेश सरकारले भ्यु टावर बनाउने छ भन्ने प्रतिबद्धता गर्द छु ।” उनले भने ।

सोही कार्यक्रममा घोडाघोडी सिमसारमा पाइने चराहरूको प्रचारप्रसार गर्ने उद्देश्यका साथ केही महिना अगाडि घोडाघोडीमै चरा फोटो खिच्ने प्रतियोगितामा प्रथम हुने फोटोग्राफर सुगम ताम्राकार, भूमिदत्त तिवारी दोस्रो र दृष्टान्त बिडारीले तेस्रो लाई नगद पुरस्कार र प्रमाण पत्र समेत प्रदान गरिएको थियो । 

घोडाघोडी क्षेत्र विभिन्न प्रजातिका आगन्तुक र रैथाने पन्छीहरूको आश्रय स्थलको रूपमा रहेको छ । यी मध्ये तीन प्रजातिका हाँसहरू (नदुन हाँस Anas poecilorhyncha, - बगाले सिम कुखुरा Gallinula chloropus हरि हाँस Nettapus coromandelianus) ले नेपालमा रहेका सिमसारहरू मध्ये घोडाघोडी सिमसार क्षेत्रमा मात्र बच्चा कोरल्ने गरेको अध्ययनबाट पाइएको छ । साथै यो सिमसार क्षेत्र थारु जातिले परापूर्व काल देखि लवाङ्गी पूजा गर्दै आएको स्थानको रूपमा परिचित रहेकोले यसको सांस्कृतिक महत्त्व पनि विशिष्ट प्रकारको छ ।