दार्चुलामा प्रदेश सभा र विद्यार्थीबिच संसदीय प्रणाली र अभ्यास विषयक अन्तरक्रिया

दार्चुलामा प्रदेश सभा र विद्यार्थीबिच संसदीय प्रणाली र अभ्यास विषयक अन्तरक्रिया

दार्चुला । सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालयको आयोजनामा दार्चुलामा संसदीय प्रणाली र अभ्यास विषयमा अन्तक्र्रिया गरिएको छ । जनतासँग सभामुख कार्यक्रम अन्तर्गत प्रदेश सभा र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुबीच आइतवार जिल्ला सदरमुकाम खलंगामा संसदीय प्रणाली र अभ्यास विषयक अन्तक्र्रिया गरिएको हो ।

प्रदेश सरकार गठन भएको ४ वर्षपछि दार्चुलामा पहिलो पटक यो कार्यक्रम गरिएको छ । संसद संचालन, कानून निर्माण, प्रदेश सभाको कार्य लगायतका बारेमा जानकारी गराउने उद्धेश्यले अन्तक्र्रिया कार्यक्रम गरिएको सुदूरपश्चिम प्रदेश सरकारका सभामुख अर्जुन बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा प्रदेश सभाको संरचनाको बारेमा सार्वजनिक लेखा समिति सभापति नन्दा बमले प्रस्तुतीकरण गरेकी थिइन् । यस्तै प्रदेश सभाको काम, कर्तव्यका बारेमा प्रदेश सभा सदस्य गेल्बु सिंह बोहरा, संसद संचालन प्रक्रियाको बारेमा उपसभामुख निर्मला बडाल जोशीले प्रस्तुतीकरण गरेकी थिइन् ।

सोही विषयमा विद्यार्थीहरुले जिज्ञासासमेत राखेका थिए । अन्तक्र्रिया कार्यक्रम सभामुख अर्जुन बहादुर थापाको अध्यक्षतामा भएको हो । प्रदेशको टोलीमा उपसभामुख निर्मला बडाल जोशी, सार्वजनिक लेखा समिति सभापति नन्दा बम, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य माया भट्ट र गेल्बु सिह बोहरा रहेका थिए ।

दार्चुला बहूमुखी क्याम्पसमा संचालन गरिएको कार्यक्रममा क्याम्पस प्रमुख कृष्णसिह साउँद, प्राध्यापकहरु, महेन्द्र नमुनाका शिक्षक लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  शुक्रवार दार्चुला पुगेको टोलीले जिल्लामा प्रदेश सरकारको लगानीमा निर्मित छात्रावासको अनुगमन निरीक्षण गरेको थियो ।

त्यसैदिन जिल्लास्थित कार्यालय प्रमुखहरुसँग अन्तक्र्रिया, छलफल गरी शनिवार महेन्द्र नमुना माविको छात्रावास र दार्चुला बहुमुखी क्याम्पसको छात्रावासको अनुगमन निरीक्षण गरिएको थियो । प्रदेशले बझाङ, बाजुरा र दार्चुलामा छात्रावास निर्माण गरेको छ ।