बैतडीको पुर्चौडीमा १६ किमिमा ५ सय बढी भाडा, क्षमताभन्दा बढी यात्रु बोक्दा पनि प्रशासन मौन

बैतडीको पुर्चौडीमा १६ किमिमा ५ सय बढी भाडा, क्षमताभन्दा बढी यात्रु बोक्दा पनि प्रशासन मौन

धनगढी । बैतडीका स्थानीय तथा शाखा सडकहरूमा विभिन्न बहानामा यात्रुहरू ठगिन थालेको र जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको पाइएको छ । जिल्लाको पुर्चौडी नगरपालिकाका शाखा सडकहरूमा १६ किलोमिटरको दुरीमा ५ सय बढी भाडा लिने गरेको र सवारी धनीहरूले सवारी क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको हो ।

स्थानीयहरूले सामाजिक सञ्जालमा सवारी धनीले बढी यात्रु बोकेको फोटो र भिडियो पोस्ट गर्दै स्थानीय सरकार  तथा प्रशासन मुख दर्शक बनेको, मौन रहेको आरोप लगाएका छन् । 

मुख्य राजमार्ग सँग जोडिएको ग्रामीण सडक जुन ढोल्या मोड देखि पुर्चौडी नगरपालिकाको केन्द्र सम्म जोडिएको छ । यो पुर्चौडी नगरपालिकाको केन्द्र सम्म जोडिएको पहिलो सडक मार्ग समेत हो । सोही सडक खण्डको १६ किलोमिटरको यात्रामा यात्रुहरूले ५०० भन्दा बढी भाडा तिर्नुपर्ने र सिट क्षमता भन्दा माथि यात्रुको ज्यान जोखिममा राखी छतमा समेत यात्रु बोक्दा समेत स्थानीय प्रशासन, यातायात व्यवसायी, ट्राफिक प्रहरी सुरक्षा बल कसैले पनि वास्ता नगरेको पुचौंडीका स्थानीय पुरन सिंह ऐरले आरोप लगाएका छन् । 

उनले लेखेका छन्, ''ढोक्यामोड देखि पुर्चौडी नगरपालिका सम्म १६ किलोमीटर बाटो को  ५०० भन्दा माथि भाडा पर्छ  सिट क्षमता भन्दा माथि र छत मा यात्रु बोक्ने यातायात बेवसाइ र ट्राफिक प्रहरी  सुरक्षा बल बैतडी  पुर्चौडी सिहदर्वार  को लापरबाही सरोकारवाला को अनदेखी । ले नागरिक असुरक्षित छ्न। सरोकारवाला सङ्गै नागरिक पनि सचेत र जिम्मेवार बन्नु आउसेक छ ।''

सो कुराको ज्वलन्त उदाहरण एवम् प्रतिनिधिमूलक घटना स्वरूप हामीले बैतडीको पुचौंडीका पुरन सिंह ऐरले सामाजिक सञ्जालमा राखेको स्ट्याटस समावेश गरेका छौँ । सो स्ट्याटस लेखेको भन्दै ऐरलाई विभिन्न ठाउँबाट धम्की पूर्ण शैलीमा स्ट्याटस हटाउन दवाव समेत आइरहेको उनले बताएका छन् ।  उनको स्ट्याटस जस्ताको त्यस्तै,
 
सो विषयमा बुझ्दा जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले यी विषयहरूमा नियमन तथा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय र बैतडीको सुरक्षा निकाय तत्पर रहेको बताउँदै भाडा र सवारी क्षमता भन्दा बढी यात्रु बोकेका सूचना अनुरूप कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । ''यात्रुहरूको गुनासो अनुसार र प्रशासन कार्यालयको नियमित कार्य तालिका अनुसार अनुगमन गरिरहेका छौँ । कानुन अनुरूप कामकारबाही नगर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउन प्रशासन प्रतिबद्ध छ ।'' उनले भने ।

अहिले समाजिक सञ्जालमा प्रशासन र सुरक्षा निकाय प्रति प्रश्न उठिरहेका छन् । यात्रु सङ्ख्या बढी राखेर छतमा समेत यात्रु बोकेका फोटो भिडियो सार्वजनिक भइरहँदा जिल्ला प्रशासन कार्यालयले यसलाई कसरी लिएको छ ? भन्ने प्रश्नको जवाफ दिदैं, ''हामी यथाशीघ्र कानुनी कारबाहीमा जान्छौँ । कहाँ के भइरहेको छ । स्थानीय बासी नागरिक बासीलाई पनि प्रशासनमा सूचना दिन र गुनासो टिपाउन आग्रह गर्दछौँ ।'' उनले भने । 

यता, पुर्चौंडी नगरपालिकाका नगर प्रमुख रण बहादुर कुँवर सँग सो विषयमा जानकारी लिन फेन सम्पर्क नहुँदा टेलिफोन मार्फत प्रतिक्रिया लिने हाम्रो प्रयास भने असफल भएको छ ।  

यो समयमा विभिन्न मेला महोत्सव, पूजा लगायतका धार्मिक कार्य गर्न र नयाँ वर्ष मनाउन देशै भरी तथा वैदेशिक रोजगारीमा गएका पुर्चौंडी बासी घर फक्रिने क्रम सुरु भएको छ । यदि स्थानीय प्रशासन तथा बैतडीका सुरक्षा निकायहरूले समयमै नियमन तथा सावधानी नअपनाए यही समयमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बहाना बनाउँदै सवारी धनीहरूले चर्को भाडा लिने र क्षमता भन्दा बढी यात्रु बोक्दा यात्रु त मारमा पर्छन् नै पैसाकै लोभमा स्थानीय स्तरमा सेवा दिँदै आइरहेका सवारी धनी तथा चालकहरू पनि उत्तिकै जोखिममा रहेका छन् । यस्ता खालका असावधानीले ज्यानै सम्म जान सक्ने दुर्घटनाहरू घट्न सक्ने जोखिम रहन्छ । घटना घटिकसेपश्चात् जिम्मेवार के हुने होला ? नगरपालिका, स्थानीय प्रशासन, सवारी धनी अथवा जिल्ला प्रशासन ? आखिर को ?