महाकाली नदीको धार परिवर्तन गर्न नेपालतिर पुगेको स्काभेटरको चाबी सशस्त्रले थुत्यो

महाकाली नदीको धार परिवर्तन गर्न नेपालतिर पुगेको स्काभेटरको चाबी सशस्त्रले थुत्यो

दार्चुला । महाकाली नदीको धार परिवर्तन गर्न नेपाल पट्टि पुगेको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले थुतेको छ । विना अनुमति नदीबाट नेपाल पट्टि पुगेको स्काभेटरको चाबी पट्रोल गस्तीमा रहेको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालसँग समन्वय नगरी भारतीय स्काभेटर नेपालतर्फ आएपछि चाबी थुतिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । सो क्षेत्रमा नेपाल प्रहरी पनि खटिएको थियो ।

चाबी खोसिएपछि चालकले ‘डाइरेक्ट स्टार्ट’ गरेर स्काभेटर पारि पट्टि लगेको छ । अनुमति मागेको कुनै एक दिनको पत्र देखाउदै दिनदिनै भारतीय स्काभेटर नेपालतिर आउने गर्दछ । भारतीय पक्षले समन्वय नगर्दा बेलाबेला स्थानीयहरु आन्दोलित बन्ने गरेका छन् ।

अहिले भारतले महाकाली नगरपालिका–१ कलौन क्षेत्र महाकाली नदीमा तटबन्धको काम गरिरहेको छ । आइतवार सो क्षेत्रका स्थानीयहरुले जिल्ला प्रशासनलाई ज्ञापनसमेत बुझाएका छन् ।

भारतीय स्काभेटर नेपालतर्फ आउनबाट रोक्ने, कलौन क्षेत्रमा बाँध नबाधिएकाले अबको एक हप्ताभित्र बाँधको निर्माण कार्य थाल्नुपर्ने जस्ता माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइएको स्थानीय अनिल कुमार जोशीले जानकारी दिए ।