सुदूरपश्चिम महोत्सव: प्रतिकुल मौसमका कारण दिउँसो दर्शकको उपस्थिति न्यून, साँझ सङ्गीतमा रमाउँछन्

सुदूरपश्चिम महोत्सव: प्रतिकुल मौसमका कारण दिउँसो दर्शकको उपस्थिति न्यून, साँझ सङ्गीतमा रमाउँछन्

धनगढी । ‘समृद्ध सुदूरपश्चिमको लागि, आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा यस वर्ष  दर्शकको उपीसथतिमा पातलो रहेको छ ।  प्रतिकुल मौसम अर्थात् तराई क्षेत्रमा गर्मी बढ्दै गइरहेका कारण दिउँसो दर्शक तथा मेला अवलोकन गर्नेहरूको उपस्थिति पातलो भएको हो । 

कोरोना महामारीले विगत दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव विगतका वर्षहरूमा मङ्सिर २२ गतेदेखि आयोजना गर्दै आएको भए पनि यस वर्ष चैतमा महोत्सव आयोजना गरिएको छ ।  धनगढीमा जारी महोत्सवमा आज ८ औँ दिन पनि विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहेको छ । 

महोत्सवमा विभिन्न प्रकारका स्टलहरू राखेका व्यपारीहरुले यस वर्ष व्यापार नभएको गुनासो गरेका छन् । महोत्सवमा जुत्ताको स्टल राखेका धनगढीका व्यापारी  प्रेम घर्ती मगरले यो पाली स्टल भाडा समेत उठ्न मुस्किल भएको बताएका छन् । वि .स २०६३ सालदेखि धनगढीको हसनपुरमा खप्तड सुज सेन्टर सञ्चालन गर्दै आएका उनले यस वर्ष विगतका वर्षझैँ महोत्सवमा स्टल राखेका छन् । तर विगतका जस्तो व्यापार व्यवसाय हुन नसक्दा भने मगर पनि चिन्तित छन् ।  ‘कोरोनाका कारणले पनि यस वर्ष महोत्सव ढिलो सुरु भयो । यो समय भने निकै गर्मी हुने समय हो । त्यस कारण पनि होला विगतका जस्तो यस वर्ष महोत्सवमा छुट्टै रौनकता देखिएको छैन’, उनले भने, ‘गर्मीको मौसम छ । व्यापार नभए पनि प्रचारप्रसार होस भनेर आएको हुँ । कुनै पनि सामाग्रीको सिजन हुन्छ । यो समयमा कस्तो खालका सामाग्रीहरू ग्राहकले खोज्छन् । ग्राहककै रोजाइलाई मध्यनजर गर्दै यस वर्ष मैले पनि आफैले उत्पादन गरेका जुत्ता, चप्पल लिएर आएको छु । आशा छ महोत्सव अन्तिमसम्म राम्रै व्यापार होला भन्ने आशा गरेको छु ।’

यस्तै, कैलालीको लम्किचुहाबाट होटेलको व्यवसाय गर्न महोत्सवमा पुगेकी सविता चौधरीले पनि व्यापार व्यवसाय नहुँदा आफूहरू खाली बस्नुपरेको बताइन् । ‘विगतका वर्षहरूमा आफूहरूलाई बस्ने फुर्सद पनि हुदैन्थ्यो तर यस वर्ष गर्मी भए पनि होला विगतका जस्तो व्यापार छैन’, उनले भनिन् । 

त्यस्तै, तुलसीपुरबाट पहिलो पटक महोत्सवमा आए पनि सोचे अनुसारको व्यापार हुन नसकेको टिकाकुमारी विकले गुनासो गरिन् । दिनमा पाँच हजारको पनि कारोबार नभएको उनको भनाइ छ ।  ‘सोचेको जस्तो व्यापार भएन अन्य  महोत्सवमा जाँदा राम्रो व्यापार हुन्थ्यो तर यहाँ म पहिलो पटक आकर्षक कृर्षिका औजारहरू बिक्री गर्नको लागि धनगढी पुगेकी हुँ, तर सोचेजस्तो व्यापार हुन सकिरहेको छैनन् । दिनमा पाँच हजार पनि उठ्न सकिहेरेको छैन । भाडा खर्च पनि उठाउन मुस्किल छ’, उनले भनिन् ।

यसै गरी, कोहलपुरबाट व्यवसाय गर्न धनगढी महोत्सवमा स्टल राखेकी सन्तोषी रामायाझीले यहाँ आएको भाडा पनि नउठ्ने अवस्था आएको बताइन् । ‘गर्मीले गर्दा यस वर्ष व्यापार छैन । विगतका वर्षहरूमा व्यापार ठिकै थियो तर यस वर्ष महोत्सव ठिक समयमा हुन नसकेर पनि होला व्यापार व्यवस्था शून्य छ’, उनले भनिन् ‘सुरुमा तीन हजार तिरेर महोत्सवमा आएका थियौ अहिले महोत्सवको स्टलको भाडा पनि महँगो भयो । १५ हजार तिरेर आएका छौँ । यस वर्ष यही पैसा पनि उठाउन मुस्किल छ ।’

यसरी महोत्सवमा व्यापार नभएपछि कतिपय स्टलहरू खाली देखिएका छन् । भने व्यापार नहुँदा व्यवसायीहरू निराश बनेका छन् । 

यद्यपि साँझ ४ बजे पछि भने क्रमशः गर्मी घट्दै जाने र राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने भएकोले पनि दर्शक श्रोतहरू उल्लेख्य उपीस्थत हुनुका साथै गीत सङ्गीतमा रमाउने गरेको उद्योग वाणिज्य संघ कैलालीकी कार्यकारी निर्देशक गोमा अधिकारीले बताइन् । महोत्सव समय फरक परेकाले र मौसम पनि प्रतिकुल भएका कारण हामीलाई व्यवस्थापन देखी विभिन्न कुरामा चुनौंति छ । बिहान, दिउँसो नआए पनि साँझ ८ बजे सम्म राष्ट्रिय कलाकारहरूको प्रस्तुति र शीतल हुनुका साथै धेरैको कार्यालय बिदा हुने भएकोले दर्शकहरूको उपस्थिति साँझ उल्लेख्य नै रहन्छ । साँझको समयमा गीत सङ्गीतमा बढी रमाउँछन् दर्शक । अझै पनि केही दिन महोत्सव जारी नै छ । सबैलाई उपस्थितिका लागी अनुरोध गर्दछु । उनले भनिन् ।

विगतका वर्षहरूका  सङ्घीय प्रहरी कार्यालयको मैदानमा हुँदै आएको महोत्सव यो वर्ष धनगढी उप-महानगरपालिका वडा नम्बर १ पशुपति टोलमा सञ्चालन गरिएको छ । भने चैत १० गतेबाट सुरु भएको महोत्सव चैत २० गते सम्म जारी रहने आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ ।