कोरोनाको पहिलेकोभन्दा संक्रामक भेरियन्ट भेटियो

कोरोनाको पहिलेकोभन्दा संक्रामक भेरियन्ट भेटियो

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) ले जनाएको छ । पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।

महामारी सम्बन्धी साप्ताहिक अपडेटमा यो नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र त्यसयता ६ सयभन्दा बढीमा यसको संक्रमण पुष्टि भइसकेको डब्लूएचओले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानमा ओमिक्रोनको बीए–२ भेरियन्टभन्दा यो १० प्रतिशत बढी संक्रामक रहेको पाइएको र यसबारे थप अनुसन्धान गर्न बाँकी रहेको डब्यूएचओको भनाइ छ।

बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) ले हालसम्म सार्स–कोभ–२ भेरियन्टका तीन नयाँ रिकम्बिनेन्ट्स (पुराना भेरियन्टहरु मिलेर बनेको नयाँ भेरिन्यन्ट) पत्ता लगाएका छन्।

जसमा एक्सएफ, एक्सई र एक्सडी रहेका छन्। यसमध्ये एक्सडी र एक्सएफ डेल्डा र ओमिक्रोनको बी–१ मिलेर बनेको हो भने एक्सई ओमिक्रोनको बीए–१ र बीए २ मिलेर बनेको हो।