टेलिकमले ल्यायो ‘अल टाइम अल नेट भ्वाइस प्याक’सहितको स्प्रिङ अफर

टेलिकमले ल्यायो ‘अल टाइम अल नेट भ्वाइस प्याक’सहितको स्प्रिङ अफर

नेपाल टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’सहितको स्प्रिङ अफर ल्याएको छ। आज (सोमबार)देखि उपलब्ध हुने यो अफरमा कम्पनीले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरु समावेश गरेको छ।

अबदेखि रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ।

यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डेटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा पनि उपलब्ध छ।

टेलिकमले स्प्रिङ अफर अन्तर्गत ग्राहकहरुको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महसुलमा कुराकानी गर्न सकिने ‘अल नेट भ्वाइस प्याक’ उपलब्ध गराएको जानकारी दिएको छ।

‘सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।ग्राहकहरुको रुचि अनुसारका केही प्याकहरुको मूल्य अझै कम गरिएको समेत कम्पनीले जनाएको छ।

कम्पनीको नेटवर्कबाट कुनै पनि नेटवर्कमा ५ सय मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध हुनेछ।

यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याकहरु उपलब्ध हुनेछन्। स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस अफर सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिने जनाइएको छ।