भारत र चिनमा कोरोनाको चौथो लहर , भारतमा एकै दिनमा संक्रमितको संख्या ९० प्रतिशतले बढ्यो

भारत र चिनमा कोरोनाको चौथो लहर , भारतमा एकै दिनमा संक्रमितको संख्या ९० प्रतिशतले बढ्यो

धनगढी । भारत र चिनमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको छ । भारत र चिनका विभिन्न स्थानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको हो ।

भारतमा  एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा भारतभर २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ ।भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभासम्मेलनमा रोक लगाइएको छ ।

यस्तै चीनका विभिन्न स्थानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सांघाई सहरमा गत मार्चमा लकडाउन गरिएयता पहिलो पटक कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । सांघाई स्वास्थ्य आयोगले मृत्यु भएका व्यक्तिहरू ८९ देखि ९१ वर्षका रहेको जनाएको छ ।

जटिल स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएका तीनै जनाले कोरोनाविरुद्धको खोप भने लगाएका थिएनन् । सांघाईका ६० वर्षभन्दा बढी उमेरका ३० प्रतिशतले खोपको पूर्ण मात्रा लिएका छन् । सांघाईमा यसअघि कोरोनाका कारण कसैको मृत्यु नभएको चीनले दाबी गरेको थियो । अधिकारीका अनुसार सांघाईमा सन् २०२० को मार्चयता सोमबार पहिलो पटक कोरोनाका कारण मृत्यु भएको हो ।

तर कतिपयले त्यसमाथि प्रश्न उठाउने गरेका छन् । मार्च अन्त्यमा ९ दिनका लागि भनेर लगाइएको लकडाउन हाल चौंथो सातामा प्रवेश गरेको छ । सहरका सबै नागरिकको सामूहिक परीक्षण गर्न लागिएको जनाइएको छ । सहरमा जारी निषेधाज्ञाका कारण लाखौं मानिसहरू घरभित्र बस्न बाध्य छन् । सांघाईको जनसंख्या हाल २ करोड ६० लाख हाराहारी छ । पछिल्लो समय निषेधाज्ञा कडा पारिएपछि भने सर्वसाधारणहरू आक्रोशित भएका बीबीसीले उल्लेख गरेको छ ।

प्रतिबन्धका कारण खाद्यान्न आपूर्तिमा समस्या देखिएको भन्दै मानिसहरूले सामाजिक सञ्जालमा गुनासो व्यक्त गरिरहेका बीबीसीले उल्लेख गरेको छ । स्थानीयले खानेकुरा, पिउने पानी तथा अन्य अत्यावश्यक सामग्री अन्यत्रबाट मगाउनुपरेको जनाएका छन् । त्यस्तै, तरकारी, मासु र अण्डाका लागि सरकारको भर पर्नुपरेको बताएका छन् ।

लकडाउन अवधि लम्बिँदै जाँदा सामान उपलब्ध गराउने सेवा, खुद्रा सामग्रीका वेबसाइट तथा सरकारले गर्दै आएको आपूर्ति प्रणालीमा ठूलो चाप थपिएको छ । तर दैनिक २० हजार जनाभन्दा बढी मानिसमा संक्रमण पुष्टि भइरहेकाले सरकारी अधिकारीहरूमाथि पनि चुनौती थपिएको छ ।

सांघाईमा सोमबार माक्रै २२ हजार २ सय ४८ जनामा संत्रमण पुष्टि भएको जनाइएको छ । केही सातायता सहरका प्रदर्शनी हल, विद्यालय तथा खुला स्थानलाई क्वारेन्टिन तथा अस्थायी अस्पताल बनाउन प्रयोग गरिएको छ ।