दार्चुलामा कोरोनाको बुस्टर डोज दिइने, मौज्दात खोप महाकालीमा लगाइने

दार्चुलामा कोरोनाको बुस्टर डोज दिइने, मौज्दात खोप महाकालीमा लगाइने

दार्चुला । दार्चुलामा कारोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप पाएका नागरिकहरुलाई बुस्टर डोज लगाइने भएको छ । कोभिड–१९ विरुद्ध खोपको दोस्रो मात्रा लगाएर ३ महिना पूरा भएका सम्पूर्ण नागरिकहरुलाई तेस्रो मात्रास्वरुप बुस्टर डोज दिइन लागेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।

नेपाल सरकारको नीति अनुरुप लक्षित समूहका सबै नागरिकहरुलाई कोभिडविरुद्ध खोप प्रदान गर्न जिल्लामा खोप लगाउन बाँकी नागरिकलाई खोप दिने र पूर्ण मात्रा खोप पाएकाहरुलाई अभियान संचालन गरेर बुस्टर डोज दिने निर्णय भएको कोभिड–१९ खोप समन्वय तथा अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टका अनुसार बुस्टर डोजका लागि ४५ हजार खोप माग गरिएको छ । माग गरिएको खोप छिट्टै उपलब्ध हुन सके चुनाव अगावै बैशाख २० गतेभित्र अभियान सन्चालन गरेर जिल्लाभरि खोप लगाइने उनले बताए ।

यस्तै हाल जिल्लाको भ्याक्सिन स्टोरमा मौज्दात ४ हजार डोज एष्ट्राजेनिका र १ हजार कोभिशिल्ड खोप सदरमुकामस्थित महाकाली नगरपालिकाका नागरिकलाई लगाइने भएको छ । भण्डारणको समस्याका कारण अहिले नजिकको नगरपालिकामा दिइने तथा थप खोप आपुर्ति भएपछि जिल्लाभरि नै दिइने स्वास्थ्य प्रमुख भट्टको भनाइ छ ।

बैशाख १२ र १३ गते (दुई दिन) अभियान संचालन गरेर बुस्टर डोज दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप सम्पूर्ण स्वास्थ्य संस्थाहरुका खोप केन्द्रबाट लगाउन सकिनेछ । दार्चुलामा ९० हजार बढीले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।