कैलारीमा गठबन्धन भाँडियो, मित्रवत प्रतिस्पर्धा हुने

कैलारीमा गठबन्धन भाँडियो, मित्रवत प्रतिस्पर्धा हुने

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच भएको सहमति भाँडिएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीबीच भएको सहमतिअनुसार माओवादीले अध्यक्ष र कांग्रेस उपाध्यक्ष पाउने भएको थियो ।

अघिल्लो निर्वाचनमा जितेका वडामा सोही दलका अध्यक्ष हुने सहमति भएको थियो । तर मनोनयन दर्ताको अन्तिम समयमा सहमति भाँडिएको हो । माओवादी र कांग्रेस छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा होमिने भएका छन् ।

नेकपा माओवादी केन्द्रका कैलारी गाउँपालिका इन्चार्ज सुरेन्द्र चौधरीले कांग्रेस छुट्टै तयारीमा गएपछि आफूहरू पनि आफ्नै तयारीमा लागेको बताए ।

नेपाली कांग्रेसका कैलाली सभापति नारायणदत्त भट्टले कैलारी गाउँपालिकामा अघिल्लो निर्वाचनमा माओवादी र कांग्रेस मात्रै मुख्य प्रतिस्पर्धी भएको अवस्थामा आफूहरू मित्रवत प्रतिस्पर्धामा गएको बताए ।