बाजुराका व्यक्तिले गरे आफ्नै छिमेकीको हत्या

बाजुराका व्यक्तिले गरे आफ्नै छिमेकीको हत्या

धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–७ का ३८ वर्षीय मंगल सिंह लुहारको हत्या भएको छ ।

उनको हत्या आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय युवक देवेन्द्रबहादुर लुहार उर्फ देवेन्द्र विकलाई नियन्त्रणमा लिएको छ। 

सोमबार बाजुरा जिल्ला अदालतले देवेन्द्र विकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

२०७८ फागुन १६ मा भारतमा चौकीदारी गरेर बसेका लुहारको राति ३ बजेतिर नयाँ दिल्लीको चाँदनी चोकमा सुतिरहेका बेला हत्या भएको थियो। 

०७८ चैत १६ मा बाजुरा प्रहरीले जिल्ला अदालतबाट म्याद लिएर हत्याबारे अनुसन्धान गरेको थियो। अपराध संहिता–२०७४ ले विदेशमा भएका अपराधमा पनि जाहेरी लिन र अनुसन्धान गर्न मिल्ने व्यवस्था गरेसँगै दिल्लीमा भएको हत्याबारे नेपालमा मुद्दा चलेर आरोपी थुनामा गएका हुन्।

घटनाबारे मृतकका छोराले चैत १५ मा जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका थिए। देवेन्द्रले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत गएर सुतिरहेका मंगलेलाई काठको मुङ्ग्राले हिर्काएर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनले ‘पुरानो रिसका कारण मध्यरातमा सुतेको बेला हत्या गरेको बयान दिएका छन्।