टीकापुर नगरपालिकाको नेतृत्वका लागि १२४ जनाको उम्मेदवारी दर्ता

टीकापुर नगरपालिकाको नेतृत्वका लागि १२४ जनाको उम्मेदवारी दर्ता

 धनगढी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकामा विभिन्न राजनीतिक दलहरुले मनोनयन दर्ता गराएका छन ।

सत्ता गठबन्धनले मेयरमा नवराज रावल र उपमेयरमा खडक शाहलाई अघि सारेको छ । रावल नेपाली काँग्रेसका महासमिति सदस्य हुन भने शाह नेकपा माओवादी केन्द्र टीकापुरका अध्यक्ष हुन ।

प्रतिपक्षी नेकपा एमालेले मेयरमा श्याम खत्री र उपमेयरमा उपमा केसीलाई अघि सारेको छ । खत्री नेकपा एमाले कैलालीका जिल्ला सचिवालय सदस्य हुन भने केसी यसअघि टीकापुर नगरपालिकाको कार्य पालिका सदस्य हुन ।

हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले निवर्तमान वडाध्यक्ष रामलाल डगौरा थारुलाई मेयरमा अघि सारेको छ भने उपमेयरमा उल्कादेवी विश्वकर्मालाई अघि सारेको छ । थारु यसअघि टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रहेका थिए ।

राप्रपा नेपालले मेयरमा गोविन्द रिमाल र उपमेयरमा सरस्वती बोहरालाई अघि सारेको छ । मौलिक जरो किलो पार्टीले राजकुमार बिष्टलाई मेयर र हिरादेवी थारुलाई उपमेयरमा अघि सारेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार ललित थापा शिव र लोकबहादुर बुढाक्षेत्रीले मेयर र प्रकाश खड्का र माया जैशीले उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन ।

नेपाली काँग्रेस बिपीले उपमेयरमा मिना साउँदलाई उपमेयरका रुपमा अघि सारेको जनाएको छ ।

सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार टीकापुर नगरपालिकाको आगामी नेतृत्वका लागि विभिन्न पदमा १२४ जनाले उम्मेदवारी दर्ता गराएका छन ।

टीकापुर नगरपालिकामा ९ वटा वडा रहेका छन । टीकापुर नगरपालिकाको मतदाता संख्या ५२९४० रहेको छ । जसमध्ये सबैभन्दा धेरै वडा नंं। १ मा २१२९५ रहेको छ ।