नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता

नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता

काठमाडौँ । नासु पदमा कार्यरत एक कर्मचारीले भन्सार र अदालतमा बसेर करोडौं रुपैयाँ अकुत आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक भन्सार जाँचपास कार्यालय तीनकुनेमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध पौने २ करोड रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

२०५६ साउन ५ मा विचारी पदबाट सरकारी सेवा प्रवेश गरेका र पछिल्लो पटक निलम्बनमा रहेका नासु थापाविरुद्ध २० वर्षमा १ करोड ८७ लाख रुपैयाँ बराबरको गैरकानुनी चल अचल सम्पत्ति आर्जन गरेको कसुरमा सोमबार विशेष अदालतमा मुद्दा दायर भएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनीविरुद्ध अकुत सम्पत्ति बराबरको बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ । अख्तियारले थापाका बाबु कृष्णबहादुर, आमा चन्द्रमाया र श्रीमती विमसा राउत थापाविरुद्ध अनुसन्धानबाट खुलेको गैरकानुनी अकुत सम्पत्ति फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

भन्सार जाँचपास परीक्षण कार्यालय तीनकुने काठमाडौंमा नासु पदमा कार्यरत थापाले पेस गरेको सम्पत्ति विवरण र अनुसन्धान गर्दा खुलेका तथ्यबीच तालमेल नदेखिएको र अनुसन्धान गर्दै जाँदा करिब २ करोड रुपैयाँ बराबरको चलअचल सम्पत्तिको स्रोत नखुलेको अख्तियारका प्रवक्ता भण्डारीले बताए ।

२०५६ साउन ५ मा विचारी पदमा सेवा प्रवेश गरेदेखि २०७५ असार मसान्तसम्मको अवधिमा थापा र उनका परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकम आफू, बाबु–आमा र श्रीमतीका नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरू दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारले जनाएको छ । कान्तिपुर दैनिकबाट