हसुलियामा शनिबार निःशुल्क हाइड्रोसिलको शल्यक्रिया शिविर हुने

हसुलियामा शनिबार निःशुल्क हाइड्रोसिलको शल्यक्रिया शिविर हुने

धनगढी । कैलारी गाउँपालिकाको हसुलियामा मिरर हस्पिटलको आयोजनामा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । हस्पिटलले यही वैशाख १७ गते (शनिबार) हसुलियामा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको हो ।

हाइड्रोसिलका बिरामीको संख्या गाउँ टोलमा बढी हुने भएका कारण सो शिविर सञ्चालन गर्न लागिएको अस्पतालका अध्यक्ष अशोक शाहले जानकारी दिए । उनले शनिवार हाइड्रोसिलका बिरामीलाई मध्ये नजर गर्दै निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्न लागेको बताए ।

उनले हस्पिटलमा नै शिविर सञ्चालन हुन लागेको बताए । उनका अनुसार कन्सल्टेन्ट सर्जन डा. शंकर अधिकारीसहितको टोलीले हाइड्रोसिलको निःशुल्क शल्यक्रिया गर्ने छ । कतिपय व्यक्तिहरू यो समस्या लुकाएर बस्ने गरेका छन् । भने कतिपय बिरामीहरू उपचार गर्न टाढा जानु पर्ने र आर्थिक अभावका कारण रोग लुकाएर बस्न बाध्य छन् ।

सोही समस्यालाई ध्यानमा राख्दै हसुलिया क्षेत्रका नागरिकहरूको सुविधाका लागि निःशुल्क शल्यक्रिया शिविर को आयोजना गरिएको अध्यक्ष शाहले बताए । आर्थिक अभाव र विपन्न वर्गका नागरिकलाई यो शिविरले सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाई छ ।

साथै उनले आगामी दिनमा पनि यस्ता शिविरहरू सञ्चालन गर्ने बताए । करिब तीन महिना अगाडीबाट सञ्चालनमा आएको हस्पिटलले गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । ग्रामीण भेगमा करिब तीन करोडको लगानीमा सञ्चालनमा आएको उक्त हस्पिटलले सस्तो सुलभ र गणस्तरिय सेवा दिँदै आएको छ । यो हस्पिटल गाउँपालिकामै विशेषज्ञ सेवा सुविधासहित सञ्चालनमा आएको पहिलो हस्पिटल हो ।

हस्पिटलले २४सै घण्टा इमरजेन्सी सेवा, फार्मेसी, प्याथोलोजी सेवा, भिडिओ एक्स–रे, एक्स–रे तथा इसिजी सेवा सञ्चालन गर्दै आएको छ । यस्तै रगतको चेकजाँच सरकारी अस्पतालकै शुल्कमा चेकजाँच भइरहेको हस्पिटलका अध्यक्षले शाहले बताए । बिरामी भर्ना शुल्क पनि अन्य हस्पिटलको भन्दा न्यून रहेको उनको भनाई छ ।

अति विपन्न परिवार र जोखिममा परेका नागरिकहरूलाई सम्पूर्ण सेवा शुल्कमा शतप्रतिशत छुटको व्यवस्था समेत रहेको उनले बताए । हस्पिटल सञ्चालनले छोटो समयमै डेलिभरी पश्चमत रक्तश्राव शरीरमा ३ ४ डेसिलिटर मात्रै रगतको लेभल भएकी एक महिलाको सफल उपचार, हड्डी भाँच्चिएको फुस्केको बिरामीको सफल शल्यक्रिया, हर्नियाँ, पायल्स र हाइड्रोसिलका बिरामी सफल उपचार गरेको छ ।

आगामी दिनमा पनि थप सेवा सुविधाहरू थप्दै जाने अस्पतालले जनाएको छ । ग्रामीण क्षेत्रका नागरिकको सुविधाका लागि आफूले हसुलिया क्षेत्रमा हस्पिटल सञ्चालनमा ल्याएको अध्यक्ष शाह बताउँछन् । धेरै जस्तो निजी हस्पिटल बजारमा खुल्न क्रम जारी रहेको बेला आफूहरूले ग्रामीण क्षेत्रका बासिन्दाको सुविधाको लागि यहाँ हस्पिटल सञ्चालन गरेको उनले बताए ।

हसुलिया क्षेत्रमा उक्त हस्पिटल सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दा भारतको पलिया लगायतका ठाउँमा गएर उपचार गर्न जानु पर्ने बाध्यताको अन्त्य भएको छ । आफ्नै गाउँ ठाउँमा सस्तो र गुणस्तरिय सेवा पाएपछि बिरामीहरू खुसी भएका छन् ।