राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण जारी रहँदा किभमा रकेट आक्रमण

राष्ट्रसंघका महासचिवको युक्रेन भ्रमण जारी रहँदा किभमा रकेट आक्रमण

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले युक्रेनको राजधानी किभको भ्रमण गर्दैगर्दा विष्फोट भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला शान्ति स्थापनाको पहलस्वरुप राष्ट्रसंघ महासचिव किभमा रहेको समयमा त्यहाँ रकेट आक्रमण भएको बताइएको छ ।

किभ शहरका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार राष्ट्रसंघ महासचिव किभमा रहेका बेला शहरको मध्य भागमा रहेको शेभचेन्को क्षेत्रमा रकेट आक्रमण भएका थिए । रकेट आक्रमणबाट तीनजना घाइते भएको बताइएको छ ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । यसअघि राष्ट्रसंघ महासचिवले टर्की र रुसको पनि भ्रमण गरेका थिए । रुस र युक्रेनबीच मध्यस्थता गरिरहेको टर्कीमा रहँदा उनले त्यहाँका शीर्षस्थ नेताहरुलाई भेटी युद्ध अन्त्यबारे छलफल गरेको जनाइएको छ ।

त्यस्तै, रुस भ्रमणका क्रममा गुटरेजले त्यहाँका विदेशमन्त्री सर्गेइ लाभ्रोभ र राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए ।