वडा नम्बर ५ लाई "स्मार्ट र नमुना" वडा बनाउँछु : शाही

वडा नम्बर ५ लाई "स्मार्ट र नमुना" वडा बनाउँछु : शाही

धनगढी । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका, वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट गजेन्द्र शाहीले उम्मेदवारी दिनुभएको छ । लामो समय सम्म युवा तथा सामाजिक क्षेत्रमा आबद्ध शाही विद्यार्थी राजनीति बाट आउनुभएको हो ।

कोरोनाकालमा उहाँले गरेको नेतृत्वमा निःशुल्क खाना अभियान, निःशुल्क अटो सेवा, अक्सिजन सेवा लगायतका कार्यमा देशभरी मै प्रशंसा बटुलेका थिए । 

कुलतमा फसेका युवाहरूका लागी सुधार केन्द्रको स्थापना, विपन्न वर्गका लागी निःशुल्क कपडा उपलब्ध गर्ने उद्देश्यले कपडा बैक लगायतका कार्यले गर्दा उहाँ आम धनगढी बासी माझ लोकप्रिय छन् ।  उमेरले कान्छो तर योजनामा र सक्रियताका हिसाबले अब्बल मानिने शाही नमुना वडा बनाउने उद्देश्यका साथ यस पटक फेरि वडाध्यक्षको उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएको छ । धनगढी खबरले उनै शाही सँग समग्र चुनावी योजना लगायत वडा नम्बर ५ को विकासका बारेमा कुराकानी गरेका छौ । 

 वडाध्यक्षमा तपाईँको उम्मेदवारी किन ?

संक्षिप्तमा भन्ने हो भने सेवा क्षेत्र भनिएको राजनीतिलाई कमाइ गरी खाने भाँडो बनाइँदै लगिएको छ  तर  राजनीति समुन्नत समाज निमार्ण र भोलिको उत्थानका लागी गर्नुपर्दछ ।  हाल सम्म विभिन्न सामाजिक गतिविधिबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर मेरो वडालाई नमुना बनाउन लागि पनि वडाध्यक्षमा मेरो उम्मेदवारी हो । म निर्वाचित भएको पाँच वर्षमा यस वडालाई स्वच्छ, हराभरा, समृद्ध र समुन्नत बनाउँछु । 

 तपाई सँगै अन्य दल तथा स्वतन्त्र रूपमा अन्य उम्मेदवार पनि चुनावी मैदानमा छन्, म नै  जित्छु भन्ने आधार के–के छन् ?

पहिलो कुरा, म आफ्नो लाभका लागि नभई नागरिकको सेवाका लागि वडाध्यक्ष उठेको हुँ । निर्वाचित भइसकेपछि आफ्नो कार्यकाल नसकिएसम्म वडावासीको सेवामा अहोरात्र खटिने छु  । वडावासीको सेवा र वडाको व्यवस्थित विकास निर्माणमा योजनाबद्ध रूपमा लाग्नु मेरो एक मात्र उद्देश्य हुनेछ ।  मैले कोरोना लगायतका विभिन्न महामारीका समयमा वडामा मात्र नभई देशभर जनसेवामा खट्ीएको सम्पूर्ण लाई अवगत नै छ, त्यसरी नै पुनः राज्यको निकायमा रहेर काम गर्ने छु । 

दोस्रो, आम नागरिकहरूको अपेक्षा र आवश्यकता बमोजिम विगतको नेतृत्वबाट नभएको हुनसक्छ त्यस कुरालाई आत्मसाथ गर्दै आम वडा बासीले आफूलाई दिएको मतको उच्च कदर गर्दै काम गर्नेछु । दलीय स्वार्थ नलादी सबैलाईलाई सम्मान पूर्वक सबैलाई राखेर सेवा प्रवाहलाई निष्पक्ष, चुस्त दुरुस्त र प्रविधिमैत्री बनाउँछु ।

तेस्रो, भ्रष्टाचार र अनियमितताका सवालमा शून्य सहनशीलताको नीति लिन्छु । आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने भन्ने कुरालाई नारामै सीमित रहन नदिएर व्यवहारमै कार्यान्वयनमा ल्याउनेछु ।

चौथो, समग्र वडाको विकासका लागि आम नागरिकको माग र आवश्यकतालाई प्राथमिकतामा राखेर समानुपातिक विकासमा जोड दिनेछु । मेरो जितका लागि यिनै आधार पर्याप्त छन् । 

 वडाको विकासका लागि तपाइँदा मुख्य एजेन्डा के–के हुन् ?

म कुरा अनुसार काम र कामअनुसार कुरा गर्नु  पर्छ भन्ने मान्यता राख्छु । कामभन्दा बढी कुरा गर्ने बानी मलाई मन पर्दैन । र, म झुटा आश्वासन दिन पनि जान्दिनँ । विकासका आधारभूत पूर्वाधारहरू शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन, भौतिक पूर्वाधार विकास, लागु औषध मुक्त वडा, सृजनशील युवा कार्यक्र लाई मुख्य प्राथमिकतामा राखेका छौँ ।  

ढल निकासको उचित व्यवस्थापन गर्ने योजना छ । सामुदायिक विद्यालयको स्तर उन्नति, गरिबिको रेखामुनि रहेका परिवारका लागी शिक्षा पूर्ण निःशुल्क बनाउने योजना छ ।

उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने नागरिकको बाध्यता अन्त्यका लागि वडामै दक्ष चिकित्सकसहितको सुविधा सम्पन्न अस्पताल स्थापना गर्न आवश्यक पहल गर्नेछु । वडा बासिको सुरक्षा सर्तकालाई ध्यानमा राखेर वडा क्षेत्रमा सी सी क्यामेरा जडान गरिने छ, जसले अपराध न्यूनीकरणमा सहजता प्रदान गरिने छ । वडालाई लागु औषध मुक्त वडा बनाइ युवाहरूलाई स्वरोजगार कार्यक्रमको पहुँचमा ल्याउने योजना छ । 

खेल क्षेत्रको विकासका लागि विशेष योजना र कार्यक्रम ल्याउनेछु । स्थान र आवश्यकता पहिचान गरी सार्वजनिक शौचालय र विश्रामालय निर्माण गर्नेछु । लक्षित वर्गले पाउने सामाजिक सुरक्षा भत्ता वितरणलाई सहज बनाउनेछु । वातावरण संरक्षणका लागि उपयुक्त नीति ल्याउनेछु ।

महिला सशक्तीकरणका लागी रोजगार र सिपमूलक तालिमहरू प्रदान गरिने छ जसले उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछ ।  नागरिक प्रत्यक्ष सहभागी भई लाभ लिने खालका कामहरू हुनेछन् । सामुदयीक जनपुस्तकालय लगायतका यी कामहरू गरेर पाँच वर्षभित्र  नमुना र स्मार्ट वडा बनाउँछु ।

 चुनावमा ठुला-ठुला घोषणा हुन्छन् । तर, जितेपछि कार्यान्वयन हुँदैनन् । तपाईँले घोषणा कार्यान्वयन गर्नुहुन्छ कसरी भन्ने ?

म यहाँको स्थानीय बासिन्दा हुँ त्यसमा पनि युवा । यहाँको समस्या र आवश्यकता मैले राम्ररी पहिचान गरेको छु, भोगेको पनि । घोषणा ठुला गर्ने तर काम नगर्ने प्रवृत्तिलाई चुनौती दिँदै काम गरेर देखाउन पनि म वडाध्यक्षको उम्मेदवार बनेको हुँ । म जितेपछि पनि आफ्ना प्रतिबद्धता बिर्सिन्नँ । कार्यान्वयन गरेर देखाउँछु ।

 नेतृत्वमा जोसुकै आए पनि केही फरक पर्दैन भन्ने आम बुझाइ छ, तपाइप्रति चाहिँ कसरी आशा र विश्वास राख्ने ?

हाम्रो यही बानी त खराब छ । सोच्नुपर्ने बेला सोच्दैनौँ अनि पछि पश्चात्ताप गर्छौँ, पाँच वर्षमा एक पटक चुनाव आउँछ । चुनावको बेला ‘सक्षम नेतृत्व छानौँ’, मैले यसअघि नै भनिसकेँ, म आफ्नो लाभका लागि नभई जनताको सेवाका लागि वडाध्यक्ष उठेको हुँ ।  निःस्वार्थ भावले नागरिकको सेवा गर्छु । म प्रति आशा र विश्वास राख्ने र राख्नुपर्ने यो भन्दा ठुलो आधार अरू के हुन सक्छ ? त्यसैले निर्धक्क रूख चिह्नमा भोट हालेर म र मेरो प्यानललाई बहुमतले विजयी गराउन वडा बासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूमा अपिल गर्दछु ।