आलितालमा काङ्ग्रेसको घोषणापत्र:२० युनिट विधुत नि:शुल्क,घुम्ती-आलिताल सडक कालोपत्रे

आलितालमा काङ्ग्रेसको घोषणापत्र:२० युनिट विधुत नि:शुल्क,घुम्ती-आलिताल सडक कालोपत्रे

डडेल्धुरा ।कृषि, पर्यटन र भौतिक पुर्वाधार बिकासमा जोड दिँदै नेपाली काङ्ग्रेस आलितालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कृषि उत्पादनमा वृद्धि, प्राकृतिक सुन्दरता संरक्षण र आलितालका हरेक टोलमा सडक पुर्वाधारहरु सहितको घोषणा पत्र काङ्ग्रेसले सार्वजनिक गरेको हो ।
 
कृषि उत्पादन बढाउन वडा नम्बर ३,५ र ८ अन्तर्गतका रक्सौन, भित्रिसैन-बाहिरिसैन, भावर, डोला,चिरान,हम्तड र सिस्ने लगायतका बस्तीहरुमा    'अपर रंगुन बृहत् लिफ्ट सिँचाई आयोजना' सिँचाइ आयोजना कार्यान्वयन गरिने निति काङ्ग्रेसले घोषणापत्र मार्फत सार्वजनिक गरेको छ।

गाँउपालिकामा उपलब्ध स्थानीय स्रोत साधनहरुको सदुपयोग गरि साना तथा मझौला उधोगहरु जस्तै अचार,जुस,मसला, साबुन-अगरबत्ती जस्ता उधोगहरु संचालन गर्न युवाहरुलाई  प्रोत्साहन गर्ने र स्वरोजगार बनाई गरी युवालाई आत्मनिर्भर बनाउने कुरा घोषणापत्रमा उल्लेख  छ। 

कृषि तथा पशुपन्छी विकासका लागि कृषकहरूलाई सरकारी तथा दातृ निकाय र गैर सरकारी संस्थाहरु संगको समन्वय र सहकार्य गराई "एक गाउँ, एक उत्पादन" कार्यक्रम गर्ने जस अन्तर्गत फलफुल खेती,तरकारी खेती,मसला खेती,जर्सीगाई पालन ,बंगुरपालन,कुखुरापालन,बाख्रापालन मत्स्यपालन लगायतका व्यवसायका लागि पकेट क्षेत्रको रुपमा विकास गर्ने  उत्पादित वस्तुको बजार खोज्ने काममा पनि गाँउपालिकाले सहयोग गर्ने प्रतिबद्धता आलिताल गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार बल बहादुर गुरुङले गरेका छ्न। उनले अर्गानिक मह उत्पादन क्षेत्रको रुपमा परिचीत यस आलिताल गाँउपालिकालाई मौरीपालन पकेट क्षेत्रका रुपमा विकास गर्न र मह प्रशोधन केन्द्र स्थापनाका लागि समेत  आवस्यक पहल गरिने घोषणापत्रमा उल्लेख छ । 

नेपाली काङ्ग्रेस आलितालको घोषणापत्रमा सडकहरूको स्तरोन्नति गरी बाह्रै महिना सवारी चल्ने बनाइने, प्रत्येक टोलको प्रत्येक घरमा विद्युत्‌को व्यवस्था गर्ने भार घटाउने प्रतिबद्धतासमेत गरिएको छ । गाउपालिका क्षेत्रमा रहेका साँस्कृतिक सम्पदाहरुको संरक्षण सम्बर्द्धन गरि पर्यटकीय स्थलका रुपमा विकास गर्ने प्रतिबद्धता उम्मेदवार गुरुङले गरेका छ्न।  
 
त्यस्तै शिक्षा र खेलकुद अन्तर्गत खेलमैदान र कभर्डहल निर्माणका योजनाहरु डिपिआर तयार पारी अघि बढाईने,विद्यालय सुधार योजनाहरुमा आलिताल ८ मा रहेको दुर्गा मा.वि डोलामा आलिताल बहुमुखी क्याम्पस स्थापनाका लागि बिगतमा स्थानीय स्तरबाट गरिएको पहललाई अपनत्व ग्रहण गरि क्याम्पस संचालनका लागि तत्काल कार्यप्रकृया अघि बढाईने, गाउँपालिका अन्तर्गत बहु-प्राविधिक शिक्षालय स्थापनाका लागि नेपाल सरकारका सम्बन्धित निकायमा आवश्यक पहल गरिने,अनाथ, टुहुरा, फरक क्षमता भएका र अतिविपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति, शिक्षकहरूका लागि विषयगत तालिम तथा निःशुल्क र गुणस्तरीय शिक्षामा जोड दिनेबारे समेत आफू प्रतिबद्ध रहेको उम्मेदवार गुरुङले बताए।
उनले पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास र प्रचारप्रसार, कला संस्कृतिको संरक्षण, बालमैत्री, ज्येष्ठ नागरिक र अपाङ्गमैत्री पालिका समेत निर्माण गर्ने प्रतिबद्धता गरेका छ्न ।

भ्रष्टाचार र अनियमितता रोक्नका लागि पालिका अन्तर्गत संचालन हुने विभिन्न योजना तथा कार्यक्रमहरुमा पारदर्शीता र जवाफदेहीता कायम गर्न नियमतीत अनुगमन,सार्वजनिक सुनुवाई, सामाजिक लेखापरीक्षण लगायत स्थानिय मिडियाहरु र अन्य माध्यमहरु मार्फत सार्वजनिक गर्ने गरी अनुगमन गर्ने समेत घोषणापत्रमा समेटिएका छन् ।

पर्यटन विकासका लागि घुम्ती-  आलिताल पर्यटन सडक कालोपत्रे गरिने समेत घोषणा पत्रमा उल्लेख छ। साथै गोदाम-डोला-चिरान-कालाकोट रिङरोड पनि कालोपत्रे गरिने आलिताल काङ्ग्रेसले  घोषणपत्र मार्फत सार्वजनिक गरेको छ। 
चिरान-हम्तड-मौरी-सिस्ने सडक र तिलेता-भावर-सिराडी-ध्याडी-भित्रि-बाहिरीसैन सडकलाई चक्रपथको रुपमा डिजाईन गरि निर्माण गरिने र सबै सडक निर्माणका योजनाहरुमा वन तथा वातावरणीय अवस्थालाई ध्यानमा राखी निर्माण पश्चात् वृक्षारोपण पनि अनिवार्य रुपमा गरिने घोषणा पत्रमा उल्लेख छ।
उक्त घोषणा पत्रमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा आलिताल ८ गोदाममा निर्माणाधिन दस सैयाको अस्पताल भवन निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गरि तत्काल विशेषज्ञ डाक्टर सहित सेवा संचालन गरिने समेतअध्यक्ष पदका उम्मेदवार  गुरुङले बाचा गरेका छ्न।

विभिन्न सडकमार्गमा पर्ने नदि/खोलाहरुमा सडक पुल निर्माण गर्ने नीति पनि नेपाली काङ्ग्रेस आलितालको रहेको छ जस अन्तर्गत घुम्तीबजार-आलिताल पर्यटन सडकको रंगुन नदि, आलिताल गाङ्खेत सडकको रेलाघाट,ढाड्डुखोला,गाङ्खेतखोला,जालटुंडा-ग्वान्नी सडकको रज्यौडा खोला, घरेलु- खिन्नेभाडी सडकको भाडी खोला,डायनी खोला लगायत अन्य आवश्यक खोलामा सडक पुल निर्माण गरिने घोषणा पत्रमा उल्लेख छ।
यसै गरि आलिताल गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गुरुङले २० युनिट भन्दा कम विधुत खपत गर्ने घर परिवारलाई विधुत सेवा नि:शुल्क गर्ने प्रतिबद्धता समेत गरेका छन।