भारतको राजस्थानमा झण्डाको विषयलाई लिएर झडप, इन्टरनेट सेवा बन्द

भारतको राजस्थानमा झण्डाको विषयलाई लिएर झडप, इन्टरनेट सेवा बन्द

भारतको राजस्थान राज्यमा झडप भएको छ । जोधपुरको जालोरी गेट क्षेत्रमा दुई समुदायबीच झडप भएको हो । झण्डाको विषयलाई लिएर उनीहरूबीच झडप भएको भारतीय प्रहरीले जनाएको छ । 

एक समुदायले गाडेको झण्डा अर्को समूहले हटाएर आफ्नो झण्डा गाडेपछि झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपमा केही प्रहरी घाइते भएका छन् । घटनालाई मत्थर पार्न प्रहरीले अश्रु ग्यास र लाठीको पनि प्रयोग गरेको छ ।  

सोमवार राति परशुराम जयन्तीलाई लिएर एक समुदायले झण्डा गाडेर सजावट गरेका थिए र अर्को समुदाय आएर झण्डा हटाउँदै लाउडस्पिकर बजाउन सुरु गरेको आरोप लगाइएको बीबीसी हिन्दीले जनाएको छ । त्यसपछि आज ईदको नमाजपछि अर्को समुदायले गाडेको झण्डा हटाएर भारतको झण्डा राखिएपछि फेरि विवाद सुरु भएको प्रहरी अधिकारीहरूले बताएका छन् । 

यस्तै झडपपछि त्यस क्षेत्रमा अस्थायी रूपमा इन्टरनेट सेवा बन्द गरिएको छ । राजस्थानका मुख्य मन्त्री अशोक गहलोतले शान्ति र सद्भाव कायम राख्न आग्रह गर्नुभएको छ ।