तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने

तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने

तत्कालको लागि नेपालमा इन्टरनेट सेवा नरोकिने भएको छ । नेपाली इन्टरनेट सेवा प्रदायकले विदेशी कम्पनीबाट ब्याण्डविथ किनेको रकम ६ महिनादेखि तिर्न नपाउँदा चुनावको बेला इन्टरनेट काटिने चेतावनी जारी गरेका थिए।

तर इन्टरनेट सेवा प्रदायकहरुको संस्था नेपाल आइस्पान र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भएको छलफलपछि मन्त्रालयले आइस्पानलाई डलर सिफारिस नरोक्ने सहमति भएको छ । आज बिदा परेकाले सिफारिस हुन नसक्ने तर भोलिदेखि नै डलर सिफारिसको काम हुने आइस्पानका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । 

‘इन्टरनेट सेवा रोकिनु भनेको देश नै ठप्प हुनु जस्तै हो, सेवा जारी राखेरै समस्याको समाधान गर्नुपर्छ, डलर सिफारिस नरोकौँ ।’ मन्त्रीको भनाइ उदृत गर्दै पराजुलीले भने । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको टाटा, एयरटेल र सिफ्फी लगायतका कम्पनीबाट ब्यान्डविथ खरिद गर्दै आएका छन् ।

महालेखा परीक्षकको रिपोर्टमा भएको बेरुजुलाई आधार मानेर मन्त्रालयले डलर सिफारिस रोक्दा सेवा प्रदायकले विदेशी कम्पनीलाई रकम तिर्न पाएका थिएनन् ।