धनगढीमा २२ करोडको लगानीमा ५० शैय्याको आयुर्वेद चिकित्सालय तयार

धनगढीमा २२ करोडको लगानीमा ५० शैय्याको आयुर्वेद चिकित्सालय तयार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको २२ करोड रुपैयाँ लगानीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ ।

निर्माण कम्पनीबाट भवन हस्तान्तरण भएपछि चालू आर्थिक वर्षभित्रै ५० शैय्याको आयुर्वेद चिकित्सालय सञ्चालनको तयारी गरिएको छ । अहिले धनगढी उपमहानगरपालिका–८ मा क्लिनिकको रूपमा सञ्चालन भइरहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन उपमहानगरपालिकाको वडा नम्बर १३, राजपुरमा निर्माण भएको हो ।

चिकित्सालयका प्रमुख डा. खगेन्द्र बमले बिजुली जडानबाहेकको भवन निर्माणको काम सबै सम्पन्न भइसकेको बताए । उनले छिट्टै भवन चिकित्सालयलाई हस्तान्तरण हुने र चालू आर्थिक वर्षको अन्तसम्ममा चिकित्सालयको सेवा सुरु गरिने बताए ।

उनले चिकित्सालयले अक्कुपञ्चर, पूर्वकर्म, पञ्चकर्म, योगलगायत आयुर्वेद चिकित्सा पद्दतिका सम्पूर्ण सेवा चिकित्सालयमा हुने गरी भवन, जनशक्ति र उपकरण व्यवस्थापन भइरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्साको सबै सेवा एकै ठाउँमा दिने गरी पहिलो पटक ठूलो अस्पताल सञ्चालन हुन गइरहेको बताए ।

चिकित्सालयका लागि सुदूरपश्चिम प्रदेश सरकारले ३६ जनाको दरबन्दी स्वीकृत गरेको छ । डा। बमका अनुसार ६ जना आयुर्वेद विशेषज्ञ डाक्टर, ४/४ जना कविराज र वैद्य, ६ जना नर्सिङ स्टाफ, योग गुरु, कार्यालय सहयोगीलगायतको दरबन्दी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत गरेको छ । “अहिले नै स्वीकृत दरबन्दीअनुसार चिकित्सालयमा जनशक्ति छैन,” डा. बमले भने, “राजपुरमा चिकित्सालय सुरु भएपछि स्वीकृत दरबन्दीअनुसार जनशक्ति भर्ना लिन्छौ ।”

आयुर्वेद अस्पतालका लागि चाहिने उपकरण र औषधिहरूको आपूर्तिसमेत हुन थालेको छ । बेडलगायतका फर्निचरहरू चिकित्सालय भवनमा जडान भएका छन् । “केही औषधि र उपकरणहरू हस्तान्तरण भएर आइसकेका छन्,” डा. बमले भने, “केही आउने क्रममै छन् । अस्पताल सुरु गर्दासम्म लगभग सबै उपकरण आइसक्छन् ।”