म्यानमारकी नेतृ सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको अपिल खारेज

म्यानमारकी नेतृ सुकीको सजायमाथि पुनर्विचार गर्न गरिएको अपिल खारेज

म्यानमारकी नेतृ आङ सान सुकीले आफूलाई भ्रष्टाचार अभियोगमा सुनाइएको सजाय पुनर्विचार गर्न गरेको अपिल त्यहाँको अदालतले खारेज गरेको छ ।

म्यानमारको सैन्य सरकारसँग निकट अदालतले सुकीले गरेको अपिललाई अस्वीकार गरेको समाचार संस्था एएफपीले जनाएको छ । यसअघि भ्रष्टाचारको आरोपमा सुनाइएको पाँच वर्षको सजाय विरुद्ध नेत्री सुकीले अपिल गर्नुभएको थियो ।

७६ वर्षीया सुकीलाई यसअघि नै ६ वर्षको जेल सजाय सुनाइसकिएको छ । उहाँले कोभिड–१९ नियम उल्लङ्घन गरेको, सैन्य सरकारविरुद्ध नागरिकलाई उक्साएको, देशको गोपनियता भङ्ग गरेको, भ्रष्टाचार गरेकोलगायतका आरोप छन् । अहिले सुकीका वकिललाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाइएको छ।

म्यानमारमा सेनाले सत्ता कब्जामा लिएपछि भएका प्रदर्शन, विरोध र सरकारविरोधी अभियानमा भएका हिंसात्मक घटनामा एक हजार ८ सयभन्दा धेरै मानिसको ज्यान गएको र १३ हजारभन्दा धेरै पक्राउ परेका विवरण सार्वजनिक भएका छन् ।