आफ्नो हुनेवाला श्रीमानलाई नै ठगी गरेको आरोपमा जेल पठाए पछि...

आफ्नो हुनेवाला श्रीमानलाई नै ठगी गरेको आरोपमा जेल पठाए पछि...

 

आसाम प्रहरीकी एक महिला सब इन्स्पेक्टर (सई) ले आफ्नो हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छिन् ।

नौगाउँ प्रहरी चौकीमा कार्यरत सब–इन्स्पेक्टर जुनमोनी राभाले आफ्ना भावी श्रीमान राणा पोगागविरुद्ध एफआईआर दर्ता गरेकी थिइन् । राणाले ओएनजीसी अर्थात् तेल र प्राकृतिक ग्यास आयोगमा आफूलाई जनसम्पर्क अधिकारी भएको दाबी गरेका थिए । हाल राणालाई नौगाउँ प्रहरीले दुई दिन प्रहरी हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।

केही महिनाअघि पनि यी महिला सब इन्स्पेक्टरले सत्तारुढ भाजपा विधायकलाई फोनमा कडा जवाफ दिएकी थिइन्, जसको मिडियामा निकै चर्चा भएको थियो ।

जुनमोनी र राणाले गत वर्ष अक्टोबरमा इन्गेजमेन्ट गरेका थिए । उनीहरु यही वर्ष नोभेम्बरमा विवाह गर्ने तयारीमा थिए । नौगाउँ प्रहरी चौकीमा परेको उजुरीका अनुसार प्रहरी नायव निरीक्षक जुनमोनीले आफूले जीवनसाथी बनाउन लागेको व्यक्ति वास्तवमा कथित ठगी भएको इन्गेजमेन्ट पछि नै थाहा पाएको बताइन् ।

उजुरीमा के छ ?

उजुरी अनुसार, अभियुक्त पोगागले जुनमोनीलाई पहिलो भेटमा ओएनजीसीको जनसम्पर्क अधिकारीको रूपमा परिचय गराएका थिए । तर, इन्गेजमेन्टपछि जुनमोनीले यस्ता धेरै प्रमाण फेला पारिन्, जसका कारण उनलाई आफ्ना भावी श्रीमानमाथि शंका लाग्न थाल्यो ।

यसबारे थप अनुसन्धान गर्दा उनी धेरै ठगीका घटनामा संलग्न रहेको पत्ता लाग्यो । उनीमाथि धेरै जनालाई जागिर दिने झूटो बहानामा करोडौं रुपैयाँ ठगी गरेको आरोप पनि लागेको छ ।

कसरी भयो दुईको भेट ?

जुनमोनी माजुलीमा पोस्टिङ हुँदा गत जनवरीमा यी दुईको पहिलो भेट भएको थियो । राणा मजुलीकै बासिन्दा हुन् ।

थुप्रै भेटघाटपछि यी दुई प्रेममा परे र केही महिनापछि परिवारको उपस्थितिमा दुबैले इन्गेजमेन्ट गरे ।

आफ्नो इन्गेजमेन्ट र ठगीको विषयमा जुनमोनी भन्छिन्, ‘म माजुलीमा तैनाथ थिएँ र मेरो उनीसँग सन् २०२१ जनवरीमा भेट भएको हो । मेरो चिनजानका स्टेसन इन्चार्जले उनीसँग परिचय गराएका थिए । प्रहरी अधिकारीसँग उनको राम्रै चिनजान थियो । त्यसको एउटा कारण यो पनि हुनसक्छ कि उनी ठगीमा संलग्न थिए । प्रहरीसँग सम्बन्ध बनाइरहे, भविष्यमा केही मद्दत पाउने उनले सोचेका थिए । उनको यस्तै मानसिकता भएको हुनसक्छ । ’

उनी थप्छिन्, ‘यस चिनजानपछि उनले मलाई विवाहको प्रस्ताव राखे । मैले यसमा आफूलाई केही समस्या नभएको तर यसका लागि घरपरिवारसँग कुरा गर्नुपर्छ भनेकी थिएँ । त्यसपछि हामीले दुईवटै घरका सदस्यलाई भेट्यौँ र कुरा पक्का भयो । त्यसको केही दिनपछि हाम्रो इन्गेजमेन्ट भयो । यसैबीच मेरो ट्रान्सफल नौगाँउ भयो । तर यहाँ आएपछि उनको कामसँग सम्बन्धित केही कुराले म जिल खाएँ । जब थोरै छानबिन गरेँ तब यस्ता कुरा पत्ता लागे जसले मेरा आँखा खुले ।’

कसरी बाहिर आयो ठगीको कुरा ?

जुनमोनीले कसैको नाम नलिई यो सम्पूर्ण मामिलामा आफूलाई सहयोग गर्ने तीन जनालाई धन्यवाद दिएकी छिन् जसले राणाको सम्पूर्ण जानकारी प्रमाणसहित उनलाई पेश गरेका थिए ।

उनी भन्छिन्, ‘राणाले आफूलाई ओएनजीसीको जनसम्पर्क अधिकृतको रूपमा चिनाएका थिए । संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण विकासको काम आफूले हेरिरहेको बताए । मैले यहाँको प्रतिष्ठित कटन कलेजबाट जनसञ्चार र पत्रकारिता पनि पढेकी हुँ त्यसैले म एक जनसम्पर्क अधिकारीको इमेजबाट निकै प्रभावित भएकी थिएँ ।  त्यसैले मैले एक पटक पनि सोचेकी थिइन कि यी व्यक्ति ठग हुन सक्छन् ।’

आरोपी राणाको ठगीबारे जानकारी दिँदै जुनमोनीले भनिन्, ‘उनले जो व्यक्तिसँग २५ लाख रुपैयाँ ठगी गरेका थिए, तिनै व्यक्तिले मलाई राणाको सबै कुकृत्यबारे जानकारी दिए ।  यसबारे राणालाई बारम्बार सोधपुछ गर्दा सबै सत्य बाहिर आयो । उनले मलाई यति ठूलो धोका दिएका छन्, त्यसैले उनले सजाय त पाउनैपर्छ । म प्रेममा पागल भएर शोक मनाउने केटी होइन । मैले तुरुन्त एफआईआर दर्ता गरेँ ।’

नौगाउँ प्रहरीले आरोपित राणाबाट धेरै कागजात र ओएनजीसीका छापहरू बरामद गरेको दाबी गरेको छ । राणाले आफूसँग सधैँ एक व्यक्तिगत सुरक्षा अधिकारी र एक चालकलाई राख्थे । यसो गरेर उनले अरुलाई प्रभावित पार्न चाहन्थे ।

बीबीसी